निसीखोला –६ स्थित भल्कोट र बुढाथोकमा ‘एक घर, एक धारा’ निर्माण

/ प्रकाशित मिति :
मंगलबार, जेष्ठ २१ २០८२

बागलुङ, २० जेष्ठ – बागलुङ जिल्लाको विकट मानिने निसीखोला गाउँपालिका–६ स्थित भल्कोट र बुढाथोकमा ‘एक घर, एक धारा’ निर्माण गरिएको छ ।

निसीखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहलगानीमा भल्कोट र बुढाथोक गाउँका ९४ घरमा ‘एक घर, एक धारा’ निर्माण गरिएको हो । वर्षौँदेखि सीमित धाराबाट पानी उपभोग गर्दै आएका स्थानीय अहिले आँगन छेउकै धारामा पानी झर्दा खुसी भएका छन् ।
भल्कोट गाउँमा मोराखेला खानेपानी आयोजनामार्फत धारा निर्माण गरिएको हो । उक्त गाउँमा ‘एक घर, एक धारा’ निर्माण गर्नका लागि नेवाको १३ लाख ३० हजार १ सय १३, गाउँपालिकाको सात लाख सात ७ सय ७७ र जनश्रमदान आठ लाख छ हजार ३ सय ७१ गरि कुल २८ लाख ३७ हजार २ सय ६१ मा ५५ धारा निर्माण गरिएको छ ।

भल्कोट गाउँमा चार हजार ९ सय १५ मिटर टाढा रहेको मोराखोलाबाट पाइपलानमार्फत पानी लिएर घरघरमा पु¥याएको नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना सम्पन्न भएर धारामा पानी झर्न थालेको छ ।

यस्तै बुढाथोकमा नेवाको ११ लाख ५५ हजार १५, गाउँपालिकाको छ लाख ६४ हजार ९ सय ५५ र जनश्रमदान छ लाख ५७ हजार ९ सय ८ गरि कुल २४ लाख ७७ हजार ८ सय ७८ मा ३९ धारा निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।

यस गाउँमा दुई सय मिटर लामो दूरीमा रहेको मुहानबाट पाइप लाइनमार्फत घरघरमा पानी पु¥याएको उहाँको भनाइ थियो । गल्कोट र बुढाथोक गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेको र स्थानीयले माग गरेपछि गाउँपालिकासँग सहकार्य गरेर ‘एक घर, एक धारा’ निर्माण गरेको कोइरालाले बताउनुभयो ।