उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका लोमान्थाङमा तिजी पर्व शुरु

/ प्रकाशित मिति :
आइतबार, जेष्ठ १२ २០८२

बागलुङ, ११ जेष्ठ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका लोमान्थाङमा सदियाँै वर्षदेखि चल्दै आइरहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी औपचारिक रूपमा सुरु भएको छ ।
उपल्लो मुस्ताङको लोछोदिन समुदायका गुरुङ र विष्ट समुदायका मानिस एकै थलोमा भेला भएर तिजी पर्वलाई हर्ष र उल्लासका साथ मनाउने प्रचलन छ ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्डको संयुक्त आर्थिक सहयोग तथा लोमान्थाङस्थित छोदे गुम्बाको व्यवस्थापनमा लोमान्थाङस्थित मुस्ताङ सांस्कृतिक राजाको दरबार परिसरमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व ‘तिजी’ शुभारम्भ गरिएको हो । तिजीलाई तिब्बती भाषामा ‘तेन्जी’ पर्व भन्ने गरिन्छ ।

तिजी पर्वका बेलामा उपल्लो मुस्ताङका स्थानीय नागरिकले आफ्नो आर्थिक हैसियतअनुसार खानपान गर्ने, नयाँ मौलिक वेशभूषासहितको लुगा र गरगहना लगाउने गर्छन् । तिजी पर्व अवधिभर गुम्बा र छोर्तेनमा गएर सामूहिक पूजाआजा गर्ने धार्मिक चलन छ ।उपल्लो मुस्ताङमा तिजी पर्व तीनसम्म मनाइने प्रचलन रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो ।

तिजी पर्वमा उपल्लो मुस्ताङअन्तर्गत साविकका सातवटै गाविसका मानिस लोमान्थाङस्थित तिजी पर्वमा उपस्थित भएर शान्ति पूजापाठमा सरिक हुनुपर्ने धार्मिक प्रचलन रहेको अध्यक्ष विष्टको भनाइ छ ।लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङको धार्मिक तथा ऐतिहासिक पर्व तिजी उपल्लो मुस्ताङको सांस्कृतिक धरोहरका रूपमा रहेको बताउनुभयो ।

तिजी पर्व आठौँ शताब्दीदेखि धर्मगुरु पद्मसम्भवको पालादेखि सुरु भएको लोमान्थाङस्थित लोमान्थाङ छोदे गुम्बाका लामा झ्याम्पा घ्याचो गुरुङले बताउनुभयो । गुरु पद्मसम्भवको पालादेखि सुरु भएको तिजी पर्व उपल्लो मुस्ताङमा पन्ध्राँै शताब्दीमा मुस्ताङी दोस्रो राजाका छोरा आङ्जेन साङ्वोको पालादेखि सुरु भएको छोदे गुम्बाका लामा गुरुङको भनाइ छ ।

पछिल्लो अवस्थामा उपल्लो मुस्ताङमा तिजी पर्व चल्दै गर्दा विभिन्न काखखण्डमा तिजी पर्व रोकिँदै र सुरु हुँदै आएकामा सन् १९६३ देखि नियमित रूपमा उपल्लो मुस्ताङमा तिजी सञ्चालन हुँदै आइरहेको छोदे गुम्बाका लामा गुरुङले जनाउनुभयो । लोमान्थाङमा ऐतिहासिक तथा धार्मिक एवं सांस्कृतिक पर्व तिजी तीन दिनसम्म नियमित रुपमा सञ्चालन हुने गर्छ । त्यस अवधिमा तीन दिनसम्म बिहान ६ः०० देखि १२ बजेसम्म त्यहाँको गुम्बामा लामाद्वारा बज्रकिलया देवता र महाकाल देवताको पूजापाठ गर्ने गरिन्छ ।