गणेशथान घुम्ती–निरयघाट सडक १० महिनामै कालोपत्र शुरु

/ प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ३ २០८२

बागलुङ, २ जेष्ठ –विकास निर्माणमा निर्माण कम्पनीको ढिलासुस्ती र लापरवार्हीले कैयौ योजना अलपत्र परिरहेको सन्दर्भमा बागलुङमा भने सम्झौताको १० महिनामै सडक कालोपत्र शुरु भएको छ ।

विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिका भित्र स्तरोन्नती भइरहेका तीन सडक मध्ये पहिलो खण्डको सडक कालोपत्र गर्न शुरु गरिएको हो ।

बागलुङ नगरपालिका भित्रका तीन वटा सडक मध्ये पहिलो सडकको रुपमा रहेको गणेशथान घुम्ती देखि निरयघाट सम्मको सडक कालोपत्र गर्न शुरु भएको निर्माण व्यवसायीले जनाएको छ । उक्त ठेक्का सम्झौता भएको १० महिनामै कालोपत्रको थालिएको निर्माण व्यवसायीका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो ।

स्तरोन्नती भइरहेको बागलुङ नगरपालिकाका तीन सडकको एक मुष्ट भौतिक प्रगति १० महिनामा ७० प्रतिशत पुरा भएको बताउदै शर्माले तेस्रो खण्डमा दुई किमि मात्रै सडक स्तरोन्नतीको काम बाँकी रहेको छ भने पहिलो खण्डको सडक कालोपत्र थालिएको जानकारी दिनुभयो । जिल्लाकै सबैभन्दा बढी लागतमा उक्त सडक असार भित्र कालोपत्र सम्पन्न भइसक्ने बताइएको छ ।

बागलुङ नगरपालिकालाई विश्व बैंकको अनुदानमा उक्त सडकको दुई खण्डमा धमाधम स्तरोन्नती र एक खण्डमा कालोपत्र शुरु भएको हो । गत असारबाट काम थालिएको उक्त सडकमा अहिले सयौ उपकरण र श्रमिक परिचालन गरेर १० महिनामै कालोपत्र थालिएको हो ।
वषौदेखि ठेक्का अलपत्र पर्ने सन्दर्भमा उक्त सडकमा भने १० महिनामै कालोपत्र हुनु सुखद् रहेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।