शिक्षक संघको स्थापना दिवसमा जिल्लाभरीका उत्कृष्ट विद्यार्थी लाई सम्मान

/ प्रकाशित मिति :
बुधबार, जेष्ठ १ २០८२

बागलुङ, ३१ बैशाख–नेपाल शिक्षक संघ, बागलुङले आफ्नो ३६ औं स्थापना दिवसको अवसरमा जिल्लाभरिका सामुदायिक विद्यालयमा अध्ययनरत १४ जना उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।

विद्यार्थी र अभिभावकमाझ सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने उद्देश्यसहित संघले बागलुङका ४ नगरपालिका र ६ गाउँपालिकाबाट स्थानीय तहमा उत्कृष्ट अंक प्राप्त गरेका १४ जना विद्यार्थीलाई नगद ५ हजार रुपैयाँ र सम्मान–पत्रसहित विद्यालयमै पुगेर सम्मान गरेको हो ।

सम्मानित हुनेमा बागलुङ नगरपालिका ४ जना, काँठेखोला गाँउपालिकाका २ जना  गल्कोट नगरपालिकाका १ जना जैमिनी नगरपालिकाका १ जना, ढोरपाटनका १ जना तमानखोलाका १, निसीखोलाका १ ताराखोला १ र बरेङ गाँउपालिकाका १ जना गरी १४ जनालाई नगद ५ हजार सहित पुरस्कृत गरिएको नेपाल शिक्षक सघं नगर समिति संयोजक घनस्याम रिजालले जानकारी दिनुभयो ।

सो बागलुङ नगरपालिकाका तर्फ रूद्रेपिपल माध्यमिक विद्यालय कक्षा ८ की विपिशा परियारलाई उत्कृष्ट नतिजा ल्याएको भन्दै नगदसहित पुरस्कृत गरिएको संयोजक रिजालले बताउनुभयो ।

विद्यार्थीलाई सिकाइ प्रक्रियामा आर्कषण गर्न, सृजनशील बनाउन र शिक्षक–विद्यार्थी सम्बन्धलाई अझ सुमधुर बनाउन यो कार्यक्रम सुरु गरिएको र अव हरेक वर्ष यसलाई निरन्तरता दिइने संयोजक रिजालले बताउनुभयो । नेपाल शिक्षक संघ बागलुङ नगर सचिव दुर्गा न्यौपानेले यसपटक स्थापना दिवसलाई स्मरणीय बनाउने उद्देश्यले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको बताउनुभयो ।
रूद्रेपिपल माध्यमिक विद्यालयका शिक्षक मुकुन्द शर्माले आफ्ना विद्यालयका विद्यार्थीले हरेक वर्षजस्तै यसपालि पनि नगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याएको र विद्यालयसम्मै सम्मान आइपुग्दा थप उत्साह मिलेको धारणा व्यक्त गर्नुभएको थियो । संघले मंगलबार साँझ लोकतान्त्रिक चोकमा दिप प्रज्वलन कार्यक्रम समेत गरेको थियो ।