पर्वतको जलजलामा उत्कृष्ट चालिस जना उद्यमीलाई सम्मान

/ प्रकाशित मिति :
आइतबार, बैशाख २८ २០८२

बागलुङ, २८ बैशाख–पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट चालिस जना उद्यमीलाई सम्मान गरिएको छ ।
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत पालिकाभित्रका उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरिएको हो ।

उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना र आत्मनिर्भर बनाउने उदेश्यले सञ्चालित कार्यक्रम अन्तर्गत पहिलो चरणमा पालिकामा सम्भाव्यता अध्ययन र उद्यमीहरुलाई आवेदन आह्वान गरेर तथ्याङ्क संकलन गरिएको थियो ।

जलजलाका नौ वटै वडाबाट १ सय ५४ जना उद्यमीहरुले आवेदन दिएकोमध्ये उद्यमीको उदेश्य, सोच, वित्तिय अवस्था, नवप्रवद्र्धन, उद्यमको वर्तमान अवस्था, व्यवसायिक योजना, बजारको अवस्था, उद्यमीको सामाजिक प्रभाब लगायतको सूचकका आधारमा चालिस जना उद्यमी छनौट गरी सम्मान गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले बताउनुभयो ।

गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, लेखा अधिकृत फणिन्द्र प्रसाद आचार्यलगायतले उत्कृष्ट जलजला उद्यमीको रुपमा कृषि, पशुपालन, खाद्य प्रशोधन, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गरी छनौट भएका उद्यमीहरुलाई सम्मान गर्नुभएको थियो ।

छनौट भएका उद्यमीहरुलाई व्यवसायिक योजना सम्बन्धि तालिम दिई उद्यमीहरुको व्यवसायिक योजनाको आधारमा उत्कृष्ट २० उद्यमी छनौट गरिने कार्यक्रममा फिल्ड अफिसर भगवती पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, उत्कृष्ट २० जनामा छनौट हुने उद्यमीहरुलाई जनही २५ हजारका दरले पुरक अनुदान उपलब्ध गराइने भएको छ ।

त्यसैगरी उत्कृष्ट १० मा छनौट हुने उद्यमीलाई उद्यम प्रवद्र्धनका लागि ५० प्रतिशत साझेदारी रहने गरी जनही नगद १ लाख ५० हजारका दरले पुरक अनुदान दिइने जनाइएको छ । पालिकाभरबाट सर्वोकृष्ट हुने एक जना उद्यमीहलाई उद्यमशीलता विस्तारका लागि थप रु १ लाख ५० हजारको दरले पुरक अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।