तीन सय विपन्न परिवारलाई निःशुल्क विद्युतीय चुलो वितरण

/ प्रकाशित मिति :
शुक्रबार, बैशाख २६ २០८२

बागलुङ, २६ बैशाख– बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले ग्यासको आयातलाई प्रतिस्थापन गर्न निःशुल्क विद्युतीय चुलो वितरण गर्न थालेको छ ।

काठेखोला गाउँपालिका २ भीमापोखराले यस वर्ष तीन सय विपन्न परिवारलाई विद्युतीय चुलो प्रदान गरेको हो । चालु आर्थिक वर्ष २०८१÷८२ मा वडाले पछि परेको समुदायमा चुलो पुर्याउने गरी बजेट विनियोजन गरेको थियो ।

नेपालमा विद्युतिय चुलोको दिगो बजार विकास परियोजनाले वडाको योजनामा साथ दिएपछि चालु वर्षमै तीन सय परिवारका लागि निशुल्क चुलो वितरण गरिएको वडा अध्यक्ष विद्यापति शर्माले जानकारी दिनुभयो । देश बाहिर जाने अत्याधिक रकमलाई रोक्न विद्युतीय चुलोको प्रयोगलाई वडाले जोड दिएको अध्यक्ष शर्माको भनार्य थियो ।

खुल्ला बजारमा पाँच हजार पाँच सय पर्ने नेपाली उत्पादन कुलायन ब्राण्डको चुलो परियोजनाले ४ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको थियो । परियोजनाले आफ्नो मुल्यमा विभिन्न दातृ निकायसँग सहकार्य गरेर ५० प्रतिशत अनुदान दिएको र बाँकी ५० प्रतिशत वडा कार्यालयले व्यवस्थापन गरेर चुलो वितरण गरिएको शर्माले जानकारी दिनुभयो ।

चुलो वितरणपछि त्यसको जडान, विद्युतिय प्वाइन्टहरुको जाँच लगायतका काम पनि परियोजनाले नै गर्ने परियोजनाको विद्युतिय चुलोका बागलुङ वितरक धौलागिरी मेसिनरी एण्ड टुल्स सप्लायर्सका प्रोपाईटर सूर्य गौतमले बताउनुभयो ।