कालीगण्डकी कोरिडोरको बलेवा—मालढुंगा खण्डको काम तिव्र गतिमा

/ प्रकाशित मिति :
मंगलबार, बैशाख २३ २០८२

बागलुङ, २३ बैशाख राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बलेवा—मालढुंगा खण्डको कामले तिव्र गतिमा अघि बढेको छ ।
एकवर्ष अगाडि सम्पन्न हुनुपर्ने उक्त खण्डको काम बजेट अभावका कारण रोकेको थियो । स्तरोन्नतिसहित कालोपत्रका लागि ५४ करोड लागतमा निर्माण थालिएको उक्त खण्डको हालसम्म ५० प्रतिशत काम सकिएको हो ।

अहिले सडक फराकिलो बनाउने, नाली निर्माणलगायत काम अन्तिम चरणमा पुगेको बलेवा–मालढुंगा खण्डका इञ्जिनीयर उत्वस बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७९ मङ्सिर २६ गते सम्झौता गरेर खड्का÷कृष्ण÷बिएन जेभीले जिम्मा लिएको थियो ।
गत मङ्सिंर २९ गते सकिनुपर्ने काम लामो समय रोकिएपछि एक वर्षका लागि म्याद थप गरिएको इञ्जिनीयर बस्यालले बताउनुभयो । निर्माण कम्पनीले आगामी मङ्सिर २४ सक्ने गरी निर्माणलाई तीव्रता दिएको उहाँको भनाइ थियो । कोरिडोरको बागलुङ खण्डमा ३४ किलोमिटर सडक पर्ने र त्यसमध्ये हालसम्म १० किलोमीटर सडक मात्रै कालोपत्र गरिएको बस्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गुल्मी र बागलुङको सिमाना पालुङखोलाबाट बलेवासम्म पहिलो र बलेवाबाट मालढुंगासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर काम भइरहेको छ । ट्र्याक खुलेको लामो समयपछि सडक कालोपत्र हुन थालेपछि यात्रुलाई सहज हुने भएको छ ।