मुस्ताङमा हाइ अल्टिच्युड उपचार केन्द्रको आवश्यकता छ – पाठक

/ प्रकाशित मिति :
सोमबार, बैशाख २२ २០८२

बागलुङ, २२ बैशाख– गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले मुस्ताङको भ्रमणमा आउने पर्यटकको सुरक्षाका लागि नाकामा हेल्थ डेक्स मार्फत स्वास्थ्य परिक्षण गरेर मात्र भ्रमणको लागि सुझाव दिनुपर्ने वताउनुभएको छ । मुस्ताङ घुम्न आउने पर्यटकलाई बिना स्वास्थ्य परीक्षण सिधै उपल्लो क्षेत्रमा पुग्दा लेक लाग्ने समस्यालाई समाधान गर्न अनिवार्य आफ्नो स्वास्थ्य परीक्षण गरेपछि मात्रै मुस्ताङ भ्रमणको वातावरण बनाउने बताउनुभयो ।

पाठकले म्याग्दीसँग सिमाना जोडिएको थासाङ गाउँपालिका ४ घाँसामा र जोमसोम विमानस्थलमा हेल्थ डेक्समार्फत स्वास्थ्य परीक्षण गर्ने र उपल्लो मुस्ताङमा हाइ अल्टिच्युड उपचार केन्द्रको आवश्यकता देखेको बताउनुभयो ।

पर्यटकको स्वास्थ्य अवस्था चेकजाँच गरी उच्च क्षेत्रमा जाँदा अपनाउनुपर्ने सावधानीबारे नाकामै सचेतना फैलाउन आागमी आर्थिक वर्षको बजेटमै सम्बोधन गर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्र मानव जीवनको अभिन्न अंग भएकाले मुस्ताङमा वर्षेनी लेक लागेर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न उपल्लो मुस्ताङमा समेत सुविधासम्पन्न उपकरण र दक्ष जनशक्तीसहित हाइ अल्टिच्युड उपचार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

दुई वर्षको अवधिमा सरद र बसन्त ऋतुमा सडक र हवाई मार्ग हुँदै मुस्ताङ प्रवेश गरेका स्वदेशी तथा विदेशी पर्यटक गरी मुस्ताङमा २८ जनाले लेक लागेर ज्यान गुमाएका छन् । लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका छन् ।

मन्त्री पाठकले हिन्दू तथा बौद्ध धर्मावलम्बीको तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा रहेका दुईवटा हाइ अल्टिच्युड उपचार केन्द्रको समेत निरीक्षण गर्नुभएको थियो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र गण्डकी प्रदेश सरकारले आकस्मिक उपचार केन्द्रको भवनका जनशक्ती र उपकरणको अभाव देखिएको बताउँदै फर्किएपछि पहल गर्ने बताउनुभयो ।