शालग्राम संरक्षण गर्न बागलुङको कुडुले फेदीमा महोत्सव संचालन

/ प्रकाशित मिति :
बुधबार, बैशाख १७ २០८२

 

कोपीला कँडेल,
बागलुङ, १७ बैशाख–बागलुङ नगरपालिका – ४ कुंडुले फेदी स्थित शालग्राम संग्रालयमा श्री रंगवैकटेश् मुक्तिनारायण मन्दिरको ब्रम्होत्सवको अवसर पारेर शालग्राम महोत्सव शुरु भएको छ ।

मन्दिरको ३८ औ व्रम्होत्सवको अवसर पारेर यहि बैशाख १७ गते देखी २१ गते सम्म संचालन हुने गरी महोत्सव शुरु गरिएको मन्दिरका अध्यक्ष तथा शालग्राम संग्राहलयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्रि कृष्ण प्रसाद पाठकले धर्म संस्कृतिको रक्षा र शालग्राम शिलाको संरक्षणका लागि सबै सरोकारवालाको ध्यान जानुपर्ने वताउनुभयो ।

दिनहुको कालिगण्डकी दोहनले शालग्राम शिला लोप हुने खतरा बढेको चर्चा गर्दै शालग्राम संरक्षण गरी जिल्लालाई धार्मिक पर्यटकिय गन्तव्यको रुपमा चिनाउनका लागि प्रदेश सरकारल ेसक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । पाठकले नदीजन्य पदार्थ निकाल्दा शालग्रामको संरक्षणमा ध्यान पुर्याउने पर्ने धारणा व्यक्त गर्नुभयो ।

यस्तै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले धर्म संस्कृति संग जोडिएको शालग्राम संरक्षण गरेर समग्र जिल्लालाई मुक्तिक्षेत्र तथा धार्मिक पर्यटकिय गन्तव्य बनाउनुपर्ने वताउनुभयो । उहाँले शालग्राम संरक्षण संगै संस्कृत भाषा र नैतिक शिक्षाको पनि सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

महोत्सव अन्र्तगत दैनिक पाठपारायण, रामायण प्रवचन, रामायण वाचन, शालग्रामको महत्व वारे चर्चा परिचर्चा,यज्ञ हवन, विद्धान गुरुजनहरु बाट प्रवचन लगायतका कार्यक्रम रहेको स्वामी ऋषि प्रपन्नाचार्यले वताउनुभयो । उहाँका अनुसार शालग्राम शिला र शालग्राम पाईने एकमात्र नदी कालिगण्डकीको महत्ववारे पनि चर्चा हुने छ । महोत्सव अवधीभर भारतको अयोध्या देखी आउनुभएका श्री १ हजार ८ स्वामी बालकृष्णाचार्य लगायतले रामायण प्रवचन गर्नुहुने छ ।

श्री रंङ्गवैकटेश मुक्तिनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा शालग्राम संग्राहालयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता, उपाध्यक्ष हरिप्रसाद उपाध्यायको संचालन र मुक्तिनाथ वेदविद्याश्रम संस्कृति विद्यालयका प्रधानाध्यापक जगन्नाथ रेग्मीको संचालनमा कार्यक्रमको उद्घाटन सत्रको समापन भएको थियो ।