धनुषामा ३ छोराछोरी लाई विष खुवाएर आमाले आत्महत्या प्रयास गरिन

/ प्रकाशित मिति :
मंगलबार, बैशाख ९ २០८२

बागलुङ, ९ बैशाख–धनुषाको शहीदनगर नगरपालिका–५ बासुदेवपट्टि गाउँमा पारिवारिक कलहका कारण आमाले आफ्नै तीन सन्तानलाई विष खुवाएर ज्यान लिएकी छन् । प्रहरीका अनुसार त्यसपछि उनले पनि आत्महत्या प्रयास गरेको आशंका सुरु गरिएको छ ।

मृत्यु हुनेमा स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साह छन् । उनीहरूको मृत्यु विष खाएका कारण भएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ करिब ६ः४० बजे बबिता साह आफ्ना तीन बालबालिकासहित घरभित्रै अचेत अवस्थामा फेला परेकी थिइन् । छिमेकीले तत्कालै सबैलाई उपचारका लागि जनकपुरतर्फ लगे पनि तीन सन्तानको ज्यान जोगाउन सकिएन । उनीहरूको अस्पतालमै मृत्यु पुष्टि भयो ।

३० वर्षीया आमा बबिता भने अझै जीवन र मृत्युको दोसाँधमा छिन् । उनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।घटना भएको करिब साढे दुई घण्टा पछिमात्र प्रहरीलाई जानकारी दिइएकाले अनुसन्धान ढिलो भएको प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिनुभयो ।

स्थानीय स्रोतका अनुसार साह दम्पतीबीच पछिल्लो समय पारिवारिक तनाव तीव्र थियो । पति सुशील साहको लामो समयदेखि घरबाहिर बसोबास र आर्थिक समस्याले गर्दा बविता मानसिक रूपमा निकै तनावमा थिइन् भन्ने प्रारम्भिक तथ्य सार्वजनिक भएको छ ।

यद्यपि, यो पुष्टिको लागि विस्तृत अनुसन्धान आवश्यक रहेको प्रहरीले बताएको छ ।