शिक्षकको आन्दोलनलाई लिएर अभिभावक सघंले मानव अधिकार गुहारे

/ प्रकाशित मिति :
आइतबार, बैशाख ७ २០८२

बागलुङ, ७ बैशाख– शिक्षकको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको भन्दै अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । १९ दिनदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू आन्दोलनमा रहेका बेला सङ्घले आयोगको ध्यानाकर्षण गराएको हो ।

आन्दोलनका कारण सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन, विद्यालय भर्ना लगायतका विषय प्रभावित भएको छ । जसले गर्दा विद्यार्थीहरूको पढ्न पाउने अधिकार हनन् भएको भन्दै अभिभावकहरूको संस्थाको ध्यानाकर्षण भएको हो ।

शिक्षाका सरोकारवालाहरूको समस्या राज्यले हल गर्नु जरुरी रहेको भन्दै सङ्घले शिक्षकका जायज मागहरू तत्काल पुरा गर्न माग गरेको छ । शिक्षक खुसी भए भने मात्रै कक्षा कोठा रमाउने भन्दै शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य चुक्न नहुने सङ्घको ठहर छ । विद्यार्थीहरूको पढ्न सिक्न पाउने नैसर्गिक अधिकारको सबै क्षेत्रबाट सम्मान गरिनुपर्ने समेत सङ्घले जनाएको छ ।

कक्षा १२ को परीक्षासमेत प्रभाव हुनसक्ने भन्दै आयोगको गम्भीर ध्यानाकर्षण गराएका हुन् । विद्यार्थीहरूको पढ्न पाउने हक, बालअधिकारको रक्षा गर्दै तत्काल आम शिक्षकहरूका समस्याको हल गरेर सामुदायिक विद्यालयहरू सञ्चालनमा आउन सक्ने वातावरण बनाउन आग्रह गरेको हो ।१२ कक्षाको परीक्षा हुने शान्तिपूर्ण वातावरण मिलाउन समेत आम अभिभावक तथा विद्यार्थीहरुका माग गरेका हुन् ।