बागलुङमै मनोरोगको उपचार थालेपछि बिरामीलाई सहज

/ प्रकाशित मिति :
शुक्रबार, बैशाख ५ २០८२

बागलुङ, ५ बैशाख बागलुङमै मनोरोगको उपचार थालेपछि बिरामीलाई सहज हुने भएको छ । बागलुङको धौलागिरि प्रादेशिक अस्पतालमा आठ महिनादेखि ठप्प मनोरोगको उपचार सुरु भएपछि बिरामीलाई सहज हुने भएको हो ।मनोचिकित्सकको अभावमा मनोरोग विभागको सेवा आठ महिनादेखि प्रभावित भएकोमा एक हप्तादेखि मनोरोग विशेषज्ञ डाक्टर गीता सुवेदीले सेवा दिन थाल्नुभएको धौलागिरि अस्पतालले जनाएको छ ।

चार वर्षदेखि सक्रिय मनोरोग विभाग आठ महिना यता ठप्प जस्तै बनेको थियो । पछिल्लो समय मनोरोगका बिरामी बढ्दो क्रममा रहेको र फलस्वरुप आत्महत्याको दर बढ्न थालेको पाइएपछि अस्पताल व्यवस्थापन समितिबाटै मनोरोग चिकित्सक व्यवस्थापन गरिएको प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डाक्टर किरण तिवारीले जानकारी दिनुभयो ।

मनोरोगको समयमै उपचार नहुँदा आत्महत्या बढ्दै जानेभएकाले अस्पताललेनै मनोरोग विभागलाई सक्रिय बनाएको छ । यस अघि छात्रावृत्ति करारमा मनोरोग चिकित्सिक व्यवस्थापन गरिए पनि अस्पतलामा आउने मनोरोगीको उपचारमा समस्या भएपछि आन्तरिक स्रोतबाटै चिकित्सक राखिएको छ ।

मनोरोगको उपचार थालेपछि पोखरा र काडमाण्डौ जानु पर्ने झन्झट टर्ने गरेको तिवारीले बताउनुभयो । अस्पतालले विशिष्टकृत सेवाका रुपमा दिइरहेको मनोरोग विभागमा अहिले एक जना मनोपरामर्शदाता समेत रहदै आउनुभएको धौलागिरि अस्पतालमा मेडिकल रेकर्डर नवराज शर्माले जानकारी दिनुभयो ।

गरिबी, सामाजिक, सांस्कृतिक लैङिग विभेद, विलासी आवश्यकता, वैदेशिक रोजगारीको प्रभाव, सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, पढाईको दबाव, दुव्र्यसन, एक्लोपन, अभिभावकले छोराछोरीलाई सही ढंगले रेखदेख नगर्दा, मानसिक तनाव, महत्वकांक्षी तथा मोबाइलको बढ्दो प्रयोगका कारण पछिल्लो समय मनोरोगका बिरामीको संख्या ह्वात्तै बढेको बागलुङ जिल्लाको तथ्याङ्कले देखाएको छ ।