बागलुङ नगरपालिका र समानता अभियानबीच फोहोर व्यवस्थापन सम्झौता

/ प्रकाशित मिति :
बिहिबार, बैशाख ४ २០८२

बागलुङ, ४ बैशाख – बागलुङ नगरपालिकाले उत्सर्जन गरेको फोहोरलाई पुन प्रयोगमा ल्याउने परियोजनामा हस्ताक्षर गरेको छ । समानता अभियान नेपालसँग नगरपालिकाले फोहोर व्यवस्थापनको सम्झौता गरेको हो ।

अभियानका प्रमुख चन्द्रकान्त पौडेल र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले फोहोर व्यवस्थापनका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । सम्झौतामा बागलुङ नगरपालिकाले ५ प्रतिशत र अभियानले ९५ प्रतिशत आर्थिक भार व्यहोर्दै फोहोर व्यवस्थापन गरिने उल्लेख गरिएको छ ।

यसका लागि ३६ करोड ७७ लाख रुपैयाँ खर्च हुने सहमति बनेको छ । सम्झौतापत्रमा हस्ताक्षर गरेपछि पौडेलले काम गरेर उपलब्धी देखाउने बताउनुभयो । फोहोरलाई पुनः प्रयोग गरेर स्वच्छ नगरको अभिायनमा साथ दिने उहाँको भनाई थियो । हाल फोहोर फालिएको वडा नंम्वर १ को खुतुर्केमा शुन्य फोहोर अभियान चलाएर व्यवस्थापन गरिने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

फोहोर व्यवस्थापनकालागि चाहिने केही उपचारण र साधन खरिदमा पनि अभियानले लगानी गर्ने जानकारी दिदै अभियानका प्रमुख पौडेलले फोहोरलाई उपयोगी सामग्री बनाउने काम गरिने बताउनुभयो । रसिया लगायतका नागरिकहरुलाई विज्ञको रुपमा ल्याएर उक्त फोहोर व्यवस्थापनमा काम गरिने उहाँले जानकारी दिनुभयो ।

फोहोर व्यवस्थापन गर्दा डम्पिङ साइड दुर्गन्धिन नहुने, पुन उपयोग गरेर फोहोरबाटै पैसा कमाउन सकिने लगायतको लक्ष्य राखिएको छ । लामो समयदेखि बागलुङ नगरपालिकाले फोहोर व्यवस्थापनको काम गर्न खोजेपनि दुर्गन्धले सास्ती हुदै आएको थियो । मालढुंगा कुश्मीसेरा सडक, कालीगण्डकी नदी र काठेखोला किनार दुर्गन्ध भएकोले स्थानीयले सास्ती खेपेका छन् ।