निलगिरी सहकारीले खाजा खर्च बचाएर ‘लेखनवृत्ति कोष’लाई सहयोग

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, फाल्गुन २५ २០८१

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले स्थापना गरेको लेखनवृत्ति कोषमा बागलुङको निलगिरी बचत तथा ऋण सहकारी संस्था लिका पदाधिकारी तथा कर्मचारीहरुले खाजा खर्च बचाएर सहयोग गरेका छन् ।
सहकारीका अध्यक्ष मीनबहादुर केसी ‘मिलन’ले नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, उपाध्यक्ष सुवास गौतम र सचिव नारायण रिजाललाई १० हजार १ सय एक रुपैयाँ हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा केसीले पत्रकारिता क्षेत्रमा कलम चलाउनेका लागि सहयोग बनोस् भनेर खाजा खर्च कटाएर सहयोग गरिएको बताउनुभयो । अन्य संस्था र सार्वजनिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुले साथ दिनुपर्ने उहाँको भनाई थियो ।
महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो । महासंघले १० लाख रुपियाँको लेखनवृत्ति कोष स्थापना गरेको छ । हालसम्म उक्त कोषमा ५ लाख रुपियाँ जम्मा भैसकेको कोषाध्यक्ष सुवास गौतमले जानकारी दिनुभयो । कोषबाट हरेक वर्ष कम्तिमा दुइ जना पत्रकारलाई अनुसन्धानमूलक समाचार लेखनका लागि प्रोत्साहन स्वरुप दिइने महासंघले योजना बनाएको छ ।
कोषमा देश विदेशमा बस्ने स्थानीय र पत्रकारले कोषमा सहयोग गरेका छन् । १० लाख रुपैयाँ पुगेपछि सहयोग स्थगित गरेर लेखनवृत्ति कोष बनाइने अध्यक्ष थापाको भनाई रहेको थियो । खोज पत्रकारितातर्फ पत्रकारलाई उत्प्रेरित गर्न कोषले प्रभावकारी भूमिका खेल्ने महासंघको विश्वास रहेको छ ।