मिडियाका समस्याबारे राज्य गम्भीर बन्न सकेनः सभामुख धिताल

बागलुङमा साझा जनआवाज अनलाइनको शुभारम्भ
धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, फाल्गुन २५ २០८१

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताले मिडियाका समस्याप्रति राज्य गम्भीर बन्नुपर्ने बताउनुभएको छ । शनिबार बागलुङमा साझा जनआवाज अनलाइनको शुभारम्भ गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
राज्यले गम्भीरतापूर्वक मिडियाका समस्याबारे अध्ययन गरेर समाधानका लागि कानुन बनाउन नसकिरहेको चर्चा गर्दै सभामुख धितालले सङ्घ सरकारलाई कानुन बनाउन अफ्ठ्यारो परे प्रदेशमा पनि छलफल चलाउन सक्ने बताउनुभयो ।
सभामुख धितालले सञ्चारमाध्यमले पनि बहुसङ्ख्यक नागरिकको भाषा बोल्नुपर्नेमा जोड दिनुभयोे । उहाँले आम नागरिकको भावनालाई उजागर गर्ने धर्म निर्वाह गर्न पनि सञ्चार क्षेत्रलाई आग्रह गर्नुभयो ।
मिडियामा धेरै समस्या रहेको र पत्रकारहरुले आफ्नो पेसालाई नजिकबाट बुझेकाले त्यहाँका समस्याबारे सत्यतथ्य जानकारी गराउन सके गण्डकी प्रदेशको तर्फबाट मद्दत गर्न प्रयास गर्ने सभामुख धितालले वचन समेत दिनुभयो ।
स्थानीय तहले बढीभन्दा बढी प्रयोग गर्न सके मिडियालाई व्यवस्थित र प्रभावकारी बनाउन सकिने धितालको जोड थियो । धितालले गण्डकी प्रदेशसभा विभिन्न कानुन बनाउने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
राज्यले मातृभाषाको रूपमा घोषणा गरेको गुरुङ र मगर भाषालाई प्रयोगमा कामकाजी र व्यवस्थित बनाउन टेबुल भइसके, देशमै उत्पादन हुने घरेलु मदिरालाई कानुन बनाएर व्यवस्थित गर्न बहस भइरहेको र सरकारको तर्फबाट विधेयकहरू समेत तयार गर्ने काम भइरहेको धितालले जानकारी दिनुभयो ।
स्थानीय मदिरालाई ब्रान्ड गर्दा स्वदेशी पूँजीको बचत हुने पनि सभामुख धितालको भनाइ थियो । गाजा खेतीलाई पनि हाम्रो उत्पादनको राम्रो आधार बनाउन सकिने हुँदा त्यसलाई कसरी व्यवस्थित गराउन सकिन्छ भन्ने विषयमा पनि प्रदेश सभामा छलफल भइरहेको सभामुख धितालले बताउनुभयो ।