पूर्व अध्यक्ष कंडेललाई पत्रकार महासंघ बागलुङद्धारा सम्मान

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, फाल्गुन १७ २០८१

नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष नारायणदत्त कंडेलले आफ्नो चारधाममध्ये महासंघ नै एक तीर्थ र धाम भएको बताएका छन् । २०५८ सालमा बागलुङ शाखाको अध्यक्ष भएका कंडेल झण्डै २२ बर्षपछि महासंघमा आएर उक्त जानकारी गराएका हुन् ।
महासंघको भवनमा पहिलो पटक प्रवेश गरेका कंडेलले पत्रकारको रुपमा समाजमा स्थापित भएकोले संस्थालाई बिर्सन नसक्ने बताए । उनले अबका दिनमा पनि पत्रकारको साथमा अगाडि बढ्ने बताए । बेलायतबाट कानूनमा विद्यावारिधी गरेका कंडेल नेपाल फर्केर वकालत पेशामा छन् । तर उनले पहिचान बनाएको पत्रकारितालाइ पनि साथ दिने भन्दै पत्रकार लेखन वृत्ति कोषका लागि शनिवार ३० हजार रुपैयाँ सहयोग समेत गरे ।
महासंघ मार्फत सशक्त पत्रकार उत्पादन, संस्थागत बिकास र पत्रकारिता मार्फत समाजको चित्रण गर्ने काममा लाग्नेलाई आफ्नो सहयोग रहने समेत उनले बताए । महासंघले कंडेललाइ शनिवार स्वागत गर्दै महासंघको धौलागिरिको इतिहास नामक पुस्तक समेत उपहार दिएको थियो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष सुवास आचार्य, पूर्व अध्यक्ष नरेश कंडेल सहितका पदाधिकारीले कंडेललाई सम्मान गरेका थिए । २०५० सालमै महासंघको तयारी भएपनि औपचारिक रुपमा पहिलो अधिवेसनबाट कंडेल २०५८ सालमा अध्यक्ष चयन भएका थिए । त्यतिबेला हालको बागलुङ, पर्वत र म्याग्दी समेतका पत्रकारको साझा संस्थाको रुपमा धौलागिरि शाखा थियो ।