द क्लिफमा मेगाट्रोल सञ्चालनमा

धौलागिरी संवाददाता / प्रकाशित मिति :
शनिबार, फाल्गुन ३ २០८१

पर्वतको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको हो ।
सञ्चालनमा आएको मेगाट्रोल २ सय ५५ मिटर अग्लो र लम्बाइ एक हजार २ सय २८ मिटर रहेको छ । बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म मेगाट्रोलमा यात्रा गर्न सकिन्छ । यसमा एकै पटकमा तीन जनासम्म खेल्न सकिने जनाइएको छ ।
मेगाट्रोलमा एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटरको हुने र एक पटकमा सातदेखि १२ मिनेटसम्म लाग्ने उहाँले बताउनुभयो । यसको गति बढाउन पनि सकिने उहाँले बताउनुभयो ।
मेगाट्रोल सञ्चालनका लागि चार करोड लगानी गरिएको कार्कीले बताउनुभयो । दुई साताअघि नै यसको सफल परीक्षण गरिएको थियो । ‘द क्लिफ’ले भ्यालेनटाइन डेका अवसर जोडी बञ्जीसमेत सञ्चालन गरेको छ । यसअघि एकजना मात्र बञ्जी गर्न मिल्नेमा दुईजना एकैसाथ मिल्नेगरी सञ्चालनमा ल्याइएको अध्यक्ष कार्कीले बताउनुभयो ।
विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, स्वीङ, स्काई साइक्लिङ, गुलेली पिङ, स्काई क्याफेलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधासम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराइरहेकामा अब पर्यटकलाई मेगाट्रोल पनि नियमित रुपमा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
अध्यक्ष कार्कीले मेगाट्रोल गर्नेका लागि एक जनाको चार हजार र तीनजनाले नै गरेमा नौ हजार ५ सय शुल्क निर्धारण गरिएको छ । योसँगै साहसिक स्वीमिङ पुललगायतका संरचनाहरु पनि निर्माण भइरहेको कार्कीले जानकारी दिनुभयो । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि यहाँआउने पर्यटकहरुको संख्या उल्लेख्य मात्रामा बढेको छ ।