समाजको चरित्र अनुसारका नीति बन्न नसकेकोमा चिन्ताः मन्त्री पाठक

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, माघ १६ २០८१

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले समाजको चरित्र अनुसारका नीति तथा कानूनहरु तयार गर्नुपर्ने बताएका छन् । नेपालको संविधानले समाजबाद उन्मुख राज्यव्यवस्थाको परिकल्पना गरेको भएपनि समाजको चरित्र अनुसारका नीति बन्न नसकेकोमा पाठकले चिन्ता व्यक्त गरे । संबिधानको परिकल्पना अनुसार चल्न नसक्दा वर्तमान समाजमा राजनीतिप्रतिको बितृष्णा बढेकोमा उनको चिन्ता थियो ।
संबिधान बनेको लामोसमय बितिसक्दा समेत कयौं ऐन कानूनहरु तयार हुन नसकेका कारणले पनि समाजका बिभिन्न क्षेत्रमा समस्या सिर्जना भैरहेको उनको तर्क थियो । निजामती कर्मचारी संगठन बागलुङको १२ औं अधिबेशनलाई बिहिबार बागलुङ बजारमा उद्घाटन गर्दै पाठकले नेपालको निजामती क्षेत्रप्रति बेला बेलामा नागरिकका तहबाट प्रश्न आउने गरेको भन्दै त्यसलाई चिर्नेगरी काम गर्नुपर्ने बताए ।
निजामती सेवा ऐन लामो समय बन्न नसक्दा कर्मचारीका बृत्तिबिकास लगायतमा प्रभाव परिरहेको भन्दै पाठकले लोकतन्त्रको स्थापनाका लागि महत्वपूर्ण योगदान गरेको समग्र निजामती क्षेत्रको मनोबल उच्च हुनेगरी ऐन ल्याउनुपर्नेमा जोड दिए । उनले वर्तमान सरकार जनताका समस्या समाधान गर्न बनेको सरकार भएकाले केन्द्रिय सरकारले अध्यादेश मार्फत जनताका दिनानुदिनका समस्या समाधान खोजेको बताए ।
“केन्द्र सरकारले अध्यादेश मार्फत छिटो बाटोबाट डेलिभरीको प्रयास थालेको छ” पाठकले भने “प्रदेश सरकारले पनि जनताको भावना अनुसारका कामकारवाही गर्ने बताए ।” कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले जनभावना अनसार नीति र बिधिमा रहेर कर्मचारीले काम गर्नुपर्नेमा जोड दिए । उनले निजामती क्षेत्रप्रतिको विश्वास बढाउन आग्रह गरे ।
नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष हिरा बहादुर केसीले सेवा प्रवाह चुस्त र द्रुत बनाउनका लागि कर्मचारीको मनोवल उच्च राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य भरत भुसाल, पुष्पराज पौडेल, धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख सुदर्शन सिलवाल, निजामती कर्मचारी युनियन बागलुङका अध्यक्ष देवप्रकाश घिमिरे लगायतले बोलेका थिए ।
संगठनका अध्यक्ष श्याम थापाको अध्यक्षता, केन्द्रिय प्रतिनिधि सरस्वती शर्मा रेग्मीको स्वागत र सचिव मनोज कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिबेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।