पूर्वाधार विकास कार्यालय अनिश्चितकालीन घेराऊ गरिएको तत्काललाई स्थगित

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, पुष २६ २០८१

बागलुङ स्थित पूर्वाधार विकास कार्यालय अनिश्चितकालीन घेराऊ कार्यक्रम स्थगित गरिएको छ ।
कुश्मीसेरा–बरेङ–शान्तिपुर सडक अन्तरगत पहिलो खण्ड कुश्मीसेरा–रुम्टा–राङखानी सडक खण्ड संघर्ष समितिले सुरु गरेको दोस्रो चरणको आन्दोलन अन्तरगत पूर्वाधार विकास कार्यालय घेराऊ कार्यक्रम स्थगित गरिएको संघर्ष समितिका संयोजक भीम श्रीषले बताउनुभयो ।
भौतिक पूर्वाधार विकास तथा यायायात व्यवस्था मन्त्रालयमा भएको सहमति पश्चात अहिलेलाई आन्दोलन स्थगित गरिएको संयोजक श्रीषले जानकारी दिनुभयो । सम्झौता बमोजिम काम नभए पुनः आन्दोलन गरिने उहाँको भनाई थियो ।
निर्माणाधीन कुश्मीसेरा–बरेङ–शान्तीपुर सडकको प्रथम खण्ड कुश्मीसेरा–रुम्टा–राङखानीको १० किलोमिटर सडक तोकिएको समयमा नै सम्पन्न गर्ने सम्झौता गरिएको छ । त्यसको लागि ठेकेदार कम्पनी शर्मा क्याराभान जेभीले जनशक्ति, उपकरण, कामदार सहित माघ ५ गतेदेखि निर्माण स्थलमा परिचालन गर्ने र निर्धारित चैत्र मसान्तभित्र गणस्तरीय काम सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
निर्धारित समयमा काम सम्पन्न गर्नको लागि यहि पुष २८ गतेसम्म कम्पनीले मन्त्रालयलाई बृस्तीत कार्ययोजना बुझाउनु पर्ने र सोही अनुरुप काम गर्ने उल्लेख गरिएको छ । पूर्वाधार विकास कार्यालयले अनुगमन गर्ने, मन्त्रालयल र निर्देशनालयले आवश्यक सहयोग र सहजिकरण गर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ ।
त्यस सडक खण्डको तेस्रो पटक म्याद थप गर्दासम्म ५७ प्रतिशत भौतिक प्रगति र ५६ आर्थिक प्रगति भएको छ । पहिलो पटक शर्मा क्याराभान जेभिले २०७६ असोज २८ गते सम्झौता गरेको थियो । त्यस सडक खण्डमा कालोपत्रे गर्नको लागि २४ करोड ५८ लाख ५७ हजार ८ सय १७ रुपैयाँमा सम्झौता गरिएको थियो ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव कमलकुमार अधिकारीको उपस्थितिमा मन्त्रालय, पूर्वाधार विकास कार्यालय बागलुङ र शर्मा क्याराभान जेभी बीच सम्झौता गरिएको हो ।