अवैध औषधि पसल दर्ता गरी सञ्चालन नगरे बन्द गरिने

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
शुक्रबार, पुष १९ २០८१

म्याग्दी जिल्लामा अवैध औषधि पसल दर्ता गरी सञ्चालन नगरे बन्द गरिने भएको छ । बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकामा मनपरी औषधी दिँदा जटिल रोगका बिरामी बढ्न थालेको भन्दै सरोकारवालाले चासो देखाएका हुन् ।
जिल्ला प्रशासनमा बसेको विपद् ब्यवस्थापन समितिको बैठकमा स्वास्थ्यकर्मीले सञ्चालन गरेको क्लिनिक समेत गैरकानुनी भएको भन्दै दर्ता प्रक्रिया नआए बन्द गरिने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।
‘स्थानीय तह र निजी क्षेत्रको सहयोगमा नियमन गरिन्छ, अब दर्ता नभएका औषधि पसल अब लामो समयसम्म संचालन हुने छैनन्’ ढकालले भन्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भइरहेको नकारात्मक कार्यको अनुगमन र ठोस कारबाही नहँुदा बिरामीको ज्यान नै जोखिममा परेको बताउनुभयो ।
बेनीका मेयर सुरत केसीले अनुमगनलाई तिब्रता दिइने बताउनुभयो । कतिपय औषधी पसलेले म्याद गुज्रिएका औषधी र खुलेआम लागूऔषधको रुपमा प्रयोग हुने औषधी बेचिरहेको गुनासोप्रति स्थानीय तहले अनुगमन गर्न सकेका छैनन् ।
म्याग्दीमा ८५ वटा औषधि पसल सञ्चालन रहेकोमा १५ को हाराहारीमा दर्तामा रहेको नेपाल औषधि ब्यवसायी संघ म्याग्दीले जनाएको छ ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारी, मंगलाका अध्यक्ष सतप्रसाद रोका, धवलागिरीका अध्यक्ष प्रेमप्रसाद पुन, मालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती, कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ, एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदी, माओवादी केन्द्रका अध्यक्ष शेरबहादुर केसी लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।