ताराखोला गाउँपालिकाको चालु आव २०८१/८२ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, पुष १९ २០८१

बागलुङको ताराखोलामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ताराखोला गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाईमा सहभागिहरुले एकल तथा विधुवा महिलाहरुले भत्ता नपाएको, टोल विकास संस्थालाई बैठक खर्च उपलब्ध नगराएको, राहात शिक्षकको संचित बिरामी बिदा नभएको, वडा स्तरीय शिक्षक विद्यार्थी कार्यक्रम सञ्चालन गर्नुपर्ने, औषधी उपचार भत्ता लगायतको विषयमा जिज्ञासा राखेका थिए ।
राष्ट्रिय वनमा ढुंगा खानीहरु अवैध रुपमा सञ्चालन भएको, स्वास्थ्य चौकीको भवन नबनेको, सहिद मार्ग जीर्ण बनेको, योजनामा लागतभन्दा स्टिमेट धेरै भएको, गाउँपालिकाको कर उठाउन व्यक्तिलाई जिम्मा दिईएको, गाडी भाडादरमा एकरुपता नहुँदा यात्रुहरुले चर्काे भाडा तिर्नुपरेको सहभागीले गुनासो गरेका थिए ।
कृषि उपज बजारीकरणको लागि सवारी नभएको, ब्याकु लोडरले मनपरी काम गरेको, जनप्रतिनिधीको पहुँचमा बजेट विनियोजन गरिएको, युवा पलायन र बसाई सराई रोक्न आगामी योजनाबारे सहभागीले जनप्रतिनिधिलाई प्रश्न गरेका थिए ।
कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको गाउँपालिकाका अध्यक्ष धन बहादुर विक ‘हिमाल’, उपाध्यक्ष भिम बहादुर रोका, प्रमुख प्रशासकिय अधिकृत विवेक सुर्यलाल विश्वकर्मा, वडा अध्यक्ष भद्र बहादुर घर्तीले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले गाउँपालिकाको आर्थिक वर्ष २०८१÷८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने ताराखोला मीडिया प्रालिका पूर्ण भद्र निउरेले नागरिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।