रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

/ प्रकाशित मिति :
मंगलबार, पुष २ २០८१

बागलुङ,२ पुस  –कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछानेसहित पाँच जनालाई मङ्गलबारबाट लागू हुने गरी चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

मङ्सिर २७ गते थपिएको पाँच दिनको म्याद सोमबार सकिएपछि प्रहरीले मङ्गलबार बिहान उहाँलाई अदालत उपस्थित गराएको हो । प्रहरीले सूर्यदर्शन सहकारीको ठगीबारे तीन महिनाभन्दा बढी समयको अनुसन्धानपछि सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन अध्ययन गरी अभियोगपत्र तयार गर्न समय लाग्ने भएकाले थप म्याद मागिएको हो ।

लामिछानेसहित गोर्खा मिडिया प्रालिका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्बस्का सञ्चालक रामबहादुर खनाल, जिबी एण्ड ग्रुपकी कर्मचारी लीला पछाई र सहकारीका पूर्वसञ्चालक कृष्ण गुरुङलाई म्याद थपको छ । लामिछानेमाथिा यसअघि सात पटक म्याद थप भइसकेको छ ।
सूर्यदर्शन सहकारी प्रकरणका अनुसन्धान अधिकृतसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक शर्माले पूरक प्रतिवेदन मङ्सिर २६ गते र थप प्रतिवेदन सोमबार बुझाइएको जानकारी दिनुभयो ।

प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।प्रतिवेदनमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीन अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ । प्रहरी प्रतिवेदनमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपियाँ बिगो मागदाबी लिन सुझाइएको छ ।