गण्डकीले राख्यो एक हजार शैयाको विशिष्टीकृत विशिष्टीकृत अस्पतालको प्रस्ताव

धौलागिरी संवाददाता / प्रकाशित मिति :
सोमबार, मंसिर ३ २០८१

प्रधानमन्त्री केपी शर्मा ओलिको चीन भ्रमणको अवसरमा गण्डकी प्रदेशमा कम्तीमा एक हजार शैयाको विशिष्टीकृत अस्पताल स्थापना लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको छ ।

गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय गरेर चीन भ्रमणमा पर्यटकीय राजधानी समेत रहेको पोखरामा कम्तीमा एक हजार शैयाको विशिष्टीकृत अस्पताल स्थापना गर्न चीन सरकारसंग प्रस्ताव राख्न अनुरोध गरेका हुन् ।
मुटु, मृगौला, क्यान्सर, मातृ तथा बालरोग साथै परम्परागत चिनियाँ उपचार पद्धति एवं आयुर्वेद र योग अभ्यास लगायतको सेवालाई एउटै छातामुनीबाट प्रदान गर्नेगरी गण्डकीमा विशिष्टीकृत अस्पतालको जरुरी रहेको र त्यसका लागि वैदेशिक सहयोग आवश्यकता परेको हुँदा चिनियाँ सरकारसंग प्रस्ताव पेश गरिएको मन्त्री पाठकले बताए ।

प्रधानमन्त्री र मुख्य सचिवलाई मन्त्री आफैले भेटेर प्रदेश सरकारको तर्फबाट औपचारिक प्रस्ताव पेश गरेका हुन् । प्रस्तावमा अस्तपाल स्थापनाको औचित्यका आधारहरु पनि पेश गरिएको छ ।

स्वास्थय मन्त्रालयको सो प्रस्तावलाई मुख्यमन्त्री कार्यालयले समेत ग्रहण गरी चीन सरकारसंग प्रस्ताव राख्न प्रधानमन्त्री कार्यालयलाई पत्रचार समेत गरेको छ ।

‘मैले मन्त्री स्तरीय निर्णय गरेर प्रधानमन्त्री र मुख्य सचिव समेतलाई भेट गरी प्रस्तावको औचित्यको वारेमा व्रिफिङ गरेको छु’ मन्त्री पाठकले भने, दुवै जनाले प्रस्ताव अगाडि बढाउने विश्वास दिलाउनु भएको छ ।’

उनले औचित्यको वारेमा वताउदै भनेका छन्, ‘हरेक प्रदेशमा प्रदेश मातहत विशिष्टीकृत सेवा प्रदान गर्न एउटा अस्पताल भएपनि गण्डकीमा हालसम्म नभएको र सो सेवाका लागि संघिय राजधानी जानुपर्ने बाध्यता रहेको, पोखरामा अन्तराष्ट्रिय विमानस्थल रहेको, पोखरा रंगशालामा नियमीत रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भइरहने र पर्यटकीय राजधानी घोषणा भएको अवस्था विदेशीहरुलाई आधुनिक प्रविधीबाट सहज रुपमा सेवा प्रदान गर्न पनि विशिष्टीकृत अस्पालको आवश्यकता रहेको छ ।’

मन्त्री पाठकले चीनको सहयोगमा अस्पताल स्थापना गर्दा त्यहाँको चिकित्सा पद्धति आयत हुने र त्यसले दुई देश विचको उपचार विधि र समबन्धमा पनि राम्रो प्रभाव पर्ने बताउदै ढोरपाटनसंग भने, ‘अहिले पनि हाम्रा हिमाली जिल्लाहरुमा परम्परागत चिनियाँ र आम्ची लगायतका चिकित्सा पद्धतिको प्रभाव राम्रो छ, अस्पतालमा पनि यी सेवाहरुलाई एकिकृत रुपमा सञ्चालन गर्दा विदेशीहरुलाई पराम्परागत चिनियाँ र आर्युवेद चिकित्सा सेवा गुणस्तरीय रुपमा प्रदान गर्न सकिने हुँदा यसले मेडिकल टुरीजमको प्रवद्र्धन गर्न समेत टेवा पुग्नेछ ।’

स्वास्थय तथ्यांकमा पनि गण्डकीमा एउटा विशिष्टीकृत अस्पतालको आवश्यकता अनिवार्य भएको मन्त्री पाठकले बताए । हाल गण्डकीमा नीजि क्षेत्रका दुई वटा ७ सय ५० शैयाको मणिपाल कलेज र ५ सय ५० शैयाको गण्डकी मेडिकल कलेज तथा सरकारी स्तरको ५ सय शैयाको एउटा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । यी मेडिकल कलेज र प्रादेशिक अस्पतालहरुमा बार्षिक करीव १६ लाख विरामी रहेकाले पनि गण्डकी प्रदेशमा एउटा विशिष्टीकृत अस्पतालको अनिवार्य आवश्यकता रहेको मन्त्री पाठकले बताए ।

हेर्नुहोस प्रस्तावको पूर्णपाठः


स्वास्थ्य मन्त्रालयले मुख्यमन्त्री कार्यालयलाई लेखेको पत्र:

मुख्यमन्त्री कार्यालयले प्रधानमन्त्री कार्यालयलाई लेखेको पत्रः