कृषि तथा इन्जिनियरिङको पढाइ अब धौलागिरी प्राविधिकमा पढाईने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, असोज ११ २០८१

स्वास्थ्य क्षेत्रको डिप्लोमा तह पढाइ गर्दै आएको धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानले चालु वर्षदेखि कृषि तथा इन्जिनियरिङको पढाइ पनि शुरु गर्ने भएको छ ।
सिटिइभिटिबाट सम्बन्धन लिएर प्रतिष्ठानले इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रोनिक्स तथा कृषितर्फ बाली विज्ञान र पशु प्राविधिक तर्फको तीनवर्षे पढाइ शुरु गरेको हो । सम्बन्धनसहित पढाइका लागि कोटा समेत निर्धारण भएको प्रतिष्ठानका अध्यक्ष श्रीप्रसाद शर्माले बताए ।
प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । यहाँ यसअघि सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट) र ल्याब टेक्नोलोजीको पढाइ भैरहेको थियो । लामो समय स्टाफ नर्स पढाइ भएपनि सरकारी नीति परिवर्तन भएपछि पढाइ रोकिएको छ । यसपटक नयाँ विषय थप भएपछि प्राविधिक धार पढ्न चाहने विद्यार्थीमा रौनकता छाउने अपेक्षा गरिएको छ ।
संघियता कार्यान्वयनपछि स्थानीय तहमा सबैभन्दा बढी आवस्यकता महसुस भएका मध्यम स्तरीय प्राविधिक जनशक्ती उत्पादनमा प्रतिष्ठानको योजना रहेको प्रिन्सिपल गणेशजंग गोदारले बताए । यो पढाइले गाउँपालिका र नगरपालिकामा चाहिने प्राविधिक जनशक्ती तयार गर्न सकिने छ । प्रिन्सिपल गोदारले जनशक्ती अभावमा भारतमा पढेका धेरै विद्यार्थी झिकाउनुपरेकोमा केही वर्षमै स्थानीय विद्यार्थीले रोजगार पाउने बताए । यी विषयको पढाइ गर्दा तीन वर्षभित्र दक्ष जशक्ती उत्पादन गरेर धेरै पालिकामा मध्यम जनशक्तीको आपूर्ति हुने समेत उनले बताए ।
हाल स्विकृत भएका सामान्य चिकित्सा र ल्याब टेक्नोलोजीमा ४० जनाको दरले पढाइ भैरहेको हो । हाल स्विकृत इन्जिनियरिङ र कृषितर्फ पनि ४० को दरले १ सय ६० विद्यार्थीले अध्ययन गर्न पाउने छन् । एसइईमा न्युनतम ६८ प्रतिशत अंक पाएका विद्यार्थी यहाँ प्राविधिक रुपमा पढ्न सक्षम हुने गोदारले बताए । त्यसबाहेक कियर गिभरको रुपमा ३ सय ९० घण्टे तालिम समेत यहाँ संचालन हुने भएको हो ।
हाल २ सय शैयाको अस्पताल बनाउन नसकेपछि प्रतिष्ठानले स्टाफ नर्स भने पढाउन नसकेको हो । आफ्नै ५० बेडदेखि १ सय शैयाको अस्पतालबाट पढाउन सक्ने भएमा प्रतिष्ठानले पहल गर्ने शर्माको भनाई छ । ‘देशकै नीतिगत व्यवस्थाले हामीले नर्स पढाउन सकेका छैनौं’ शर्माले भने, ‘पढाइ रोकिंदा धेरै विद्यार्थी भारत र अन्य देशमा पुगेर पढ्न बाध्य भएका छन् ।’ कतिपयले नर्स पढ्न नपाएर बाध्य भई अन्य पढाइ गरिरहेका छन् ।
यता धौलागिरि अस्पताल भने २ सय शैयाको बन्दैछ । यहाँ दैनिक एक सयबढी स्टाफ नर्सका विद्यार्थी आवस्यक पर्ने भएपनि पाउन सकेको छैन । नजिकमा नर्स कलेज नभएपछि विद्यार्थी नभएको अस्पतालकी नर्सिङ अधिकृत मिलन बरुवालले भनिन्, ‘दरबन्दीका नर्सले काम गरेपनि सहयोगीको कमी भएको हो ।’ नर्स अभावमा नीजि अस्पताल र क्लिनिकमा पनि अनमी वा अन्य सेवाका स्वास्थ्यकर्मीले छिटफुट सेवा दिएका छन् । कतिपयले दक्ष जनशक्ती नै नपाएको गुनासो गर्दै आएका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष शर्मा र प्रिन्सिपल गोदारले धौलागिरि क्षेत्रमै प्राविधिक तहको पढाइको आवस्यकता, दक्ष जनशक्ती नपाएको चुनौती बारेमा जानकारी गराएका थिए । हाल यो प्रतिष्ठानबाट उत्तिर्ण गरेका ७२ जनाले विभिन्न स्वास्थ्य चौकीमा इन्चार्ज सरहको एचए पदमा रोजगार गरेको, १७ जनाले तल्लो पदमा काम गरेको, ४१ जनाले अनमनी लगायतमा काम गरेको र ७० जना प्राविधिक कामकै लागि बैदेशिक रोजगारीमा पुगेको समेत जानकारी दिए ।