प्रहरीले ६ घण्टामै पक्राउ गर्‍यो सुन चोरी गर्ने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
सोमबार, साउन २८ २០८१

बागलुङको बडिगाड गाउँपालिकामा सुन चोरी गर्नेलाई प्रहरीले ६ घण्टामै पक्राउ गर्न सफल भएको छ ।
बडिगाड गाउँपालिका वडा नं. २ खर्बाङकी नरमाया थापाको घरबाट गत शनिबार साँझ १ थान सुनको सिक्री, २ थान तिलहरी १ थान सुनको औंठी, १ थान छापे औंठी, १ थान बाला र नगद ५ सय रुपैयाँ चोरी गर्ने २१ वर्षिय किरण विकलाई प्रहरीले चोरी गरेको ६ घण्टामै पक्राउ गर्न सफल भएको हो । चोरीमा संलग्न विक म्याग्दीको मालिका गाउँपालिका वडा नं. ३ का हुन् ।
चोरी गरेर फरार भएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुर्तिवाङ, गलकोट र प्रहरी चौकी खर्बाङको टोलीले विकलाई खर्बाङस्थित मध्यपहाडी लोकमार्गबाट गहनासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक विजय यादवले जानकारी दिए ।
शनिबार साँझ चोरी गरी फरार भएका विकलाई प्रहरी आइतबार साढे १२ बजे पक्राउ गरेको हो । पक्राउ परेका विकलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० अन्तर्गत चोरी सम्बन्धि कसुरमा मुद्दा चलाउन अनुसन्धानका लागि जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थपिएको यादवले बताए ।