साउनको अन्तिम सोमबार गलेश्वर धाममा भक्तजनको घुँईचो (फोटो/भिडियो सहित)

कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
सोमबार, साउन २८ २០८१

📸 तस्बिरः दिलिप प्रतेल

साउनको अन्तिम सोमबार म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वर धाममा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

म्याग्दी जिल्लाकै प्रमुख तथा प्रसिद्ध धार्मिकस्थल बेनी नगरपालिका ९ स्थित गलेश्वर शिवालयमा यसवर्ष साउन महिनाको अन्तिम सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट आएका भक्तजनहरुले पूजाआजा गरेका छन् ।
विगतका वर्षहरुको तुलनामा यसवर्ष साउन महिनामा गलेश्वर महादेवको पूजा अर्चना र दर्शन गर्न आउने भक्तजनहरुको संख्या बढेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

धार्मिक, आर्थिक र पर्यटकीय महत्व बोकेको गलेश्वरमा पूर्वाधारहरु निर्माण गरिएपछि पौराणिकस्थल धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चक्राकार शीलामाथि अवस्थित गलेश्वर धाममा करोडौँका पूर्वाधार निर्माण भएपछि तीर्थयात्री आकर्षित भएको अध्यक्ष रेग्मी भनाई छ ।

🎬️ भिडियो हेर्नुहोस् ।

बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्नीमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको शवलाई शिव भगवानले काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ ।
१९ औँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक साधुले सानो कुटी र कच्ची मन्दिर बनाइ त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको जानकारहरु बताउँछन् ।

जस्तै लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुंगामा मूल उम्रेर बनेको वराहा पोखरी, जडभरत गुफा, नौ रोपनी क्षेत्रफलको चट्टानमा जगबिना निर्माण गरिएको भगवान शिवजीको मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिङ्ग, साँढेका मूर्तिहरु, घण्टा यहाँका मुख्य आकर्षण हुन् ।