मुक्तिनारायण मन्दिरमा सम्पन्न आँखा परिक्षण शिविर बाट २ सय ५३ जना लाभान्वित

/ प्रकाशित मिति :
बुधबार, साउन ९ २០८१

बागलुङ,९ साउन –श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुडुलेफेदीका संस्थापक दिवंगत स्वामी श्रीधराचार्यको जन्मोत्सव अन्र्तगत बुधबार सम्पन्न निशुल्क आँखा शिविर बाट दुई सय ५३ जना लाभान्वित भएका छन् ।

श्रीधराचार्य औषधालयको आयोजना तथा नेपाल नेत्र ज्योति सघं धौलागिरी आँखा अस्पतालको प्राविधिक सहयोगमा मुक्तिनारायण मन्दिरमा निशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरिएको हो ।

शिविरमा नेत्र सहायक डा. सविना पौडेल लगायतको टोलीले आँखा परिक्षण गरेको थियो । परिक्षण गरिएका मध्य १५ जनामा मोतिया बिन्दुको समस्या देखिएकाले सल्यक्रिया गर्नका लागि धौलागिरी आँखा अस्पताल उपल्लाचौरमा बोलाईएको उपचारमा संलग्न नेत्र सहायक डा. सविना पौडेलले बताउनुभयो । उहाँका अनुसार २ सय बढि लाई निशुल्क चस्मा समेत वितरण गरिएको नेपाल नेत्र ज्योती सघं बागलुङका अध्यक्ष बिन्दुसागर राजभण्डारीले जानकारी दिनुभयो ।

शिविरको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले धर्म, संस्कृति र पर्यटकिय क्षेत्रको प्रवद्धनमा स्वामी श्रीधराचार्यको योगदान सदैव स्मरणयोग्य रहेको वताउनुभयो । उहाँले स्वामी श्रीधराचार्यको सच्चा सम्मानका लागि शालग्राम क्षेत्रको सबै मिलेर विकाश र प्रवद्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा लक्ष्मीहरि मन्दिर पर्वत सहर्षधाराका अध्यक्ष श्री १ हजार ८ स्वामी नारायण प्रपन्नाचार्य उपाध्याय, रामानुज आश्रम पाल्पाका मठाधिश स्वामी डा. केशव प्रपन्नाचार्य, नेपाल नेत्र ज्योती सघंका केन्द्रिय सचिव तथा बरिष्ठ अधिवक्ता हरिप्रसाद शर्मा पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

स्वामी श्रीधराचार्यको नाममा गत वर्ष देखी संचालित औषधालयले नियमित रुपमा मन्दिरमा आउने भक्तजन तथा त्यहाँका स्थानिय लाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको औषधालयका स्वास्थ्यकर्मी झपेन्द्र केसीले जानकारी दिनुभयो ।

कार्यक्रम –श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरका अध्यक्ष तथा शालग्राम संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता र उपाध्यक्ष हरिप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।