श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरमा ४८ घण्टे अखण्ड हरिकृतन शुरु

/ प्रकाशित मिति :
मंगलबार, साउन ८ २០८१

बागलुङ, ८ श्रावण –श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुडुलेफेदीले दिवंगत स्वामी त्रिदण्डी यतिराज जियर श्रीधराचार्यको जन्मोत्सव त्रिदिवसिय कार्यक्रमका साथ मनाउन शुरु गरेको छ । मन्दिरका स्थापनाकार तथा संस्थापक स्वामी श्रीधराचार्यको ८५ औ जन्मदिन लाई अवतारोत्सवका रुपमा विविध त्रिदिवसिय कार्यक्रमका साथ मनाउन शुरु गरिएको हो ।

कार्यक्रमको पहिलो दिन मंगलबार श्रीमद्भागवत गिता भाष्यादि ग्रन्थको पाठ पारायण सहित ४८ घण्टे अखण्ड हरिकृतनको शूरुआत गरिएको मन्दिरका उत्तराधिकारी तथा श्रीधराचार्य शालग्राम संग्राहलयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो । अखण्ड हरिकृतनको शुभारम्भ प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी र स्वामी ऋषि प्रपन्नाचार्यले गराउनुभएको थियो । यस्तै बुधबार निशुल्क आँखा शिविरको आयोजना गरिएको स्वामी प्रपन्नाचार्यले बताउनुभयो ।

कार्यक्रमको अन्तिम दिन बिहिबार जगत गुरु यतिराज  कमलनयनाचार्य आश्रम माईघर झापाका पिठाधिश श्री १००८ स्वामी केशवाचार्य लाई अभिनन्दन गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो । मन्दिर पसिरमा थप धार्मिक संरचना थपिदै गएपछि शालग्राम संग्रहालय तथा मन्दिर दर्शन गर्न आउने पर्यटक तथा भक्तजनको संख्या बढ्दै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।