पाठेघर र आङ खसेका महिलाहरुका लागि बरेङमा निशुल्क शिविर (फोटो सहित)

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, बैशाख २९ २០८१

दक्षिण बागलुङको बरेङ गाउँपालिकामा शनिबार आयोजित पाठेघर तथा आङ खसेका महिलाहरुका लागि निशुल्क स्वास्थ्य शिविरबाट ७९ जना महिला लाभान्वित भएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ (भिआईए) जाँच गरिएको थियो ।
शिविरमा जाँच गरिएकामध्ये पाँच जना महिलालाई शल्यक्रियाका लागि धौलागिरि अस्पताल बोलाईएको अस्पतालका स्त्री रोग विशेषज्ञ डा. विजय ओझाले जानकारी दिनुभयो ।
शिविरमा दुई जना पाठेघरको मुखको क्यान्सरको शंकास्पद बिरामीलाई परामर्श तथा उपचारको लागि सुझाईएको थियो भने १० जना महिलामा रिङ पेसरी राखिएको र दुईको इम्प्लान्ट निकालिएको थियो ।


पाठेघर सम्बन्धी जुनसुकै रोग तथा अप्रेशन गर्नुपर्ने बिरामीहरुको धौलागिरि अस्पताल बागलुङमा निशुल्क उपचार हुनुका साथै गाडी भाडा समेत प्रदान गरिने धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य लक्ष्मी जिसी कार्कीले बताउनुभयो ।
घरगाउँकै अस्पतालमा बिशेषज्ञ सेवा लिन पाउँदा आफुहरुलाई ठुलो राहत मिलेको भन्दै समय समयमा यस्ताखाले शिविर आगामी दिनमा संचालन गर्न स्थानीयले आयोजकलाई आग्रह गरेका थिए ।
शिविर धौलागिरि अस्पताल बागलुङको आयोजना, बरेङ गाँउपालिकाको संयोजनमा बरेङ बजारस्थित हुग्दिसिर स्वास्थ्य चौकीमा सम्पन्न भएको थियो । शिविरमा स्त्री रोग विशेषज्ञ डा. विजय ओझा, मेडिकल अफिसर डा. अर्जुन बराल, मेडिकल रेकर्डर नवराज पौडेलको टिमले बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।