खानेपानी आपुर्तिमा समस्या आएपछि बजारबासीलाई खानेपानी निशुल्क बितरण (भिडियोसहित)

कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति :
आइतबार, बैशाख २३ २០८१

लामो समयको खडेरीले पानीका मुहान सुक्न थालेपछि बागलुङ बजारमा खानेपानीको चरम अभाव हुन थालेको छ ।
बागलुङ बजारमा वितरण हुने लेखानीको भुदिखोला, रेश खोलामा पानीको मात्रा घट्नुका साथै रिठे खोलाको मुहानै सुकेपछि बजारबासीलाई खानेपानीको जोहो गर्न घण्टौं समय लगाएर कुवा, सार्वजनिक धारा र खोलामा धाउनु पर्ने अवस्था सिर्जना भएको छ ।
कतिपय खोलाको मुहान नै सुकेर खानेपानी आपुर्तिमा समस्या आएपछि बागलुङ बजारका एक मनकारी व्यक्तिले बजारबासीलाई ट्याङ्कीमा पानी ढुवानी गरेर निशुल्क रुपमा बितरण गर्ने अभियान थाल्नुभएको छ । खानेपानीको चरम अभावले बजारबासी काकाकुल बस्ने अवस्था सिर्जना भएपछि बागलुङ नगरपालिका वडा नं. ४ निवासी रामप्रसाद शर्माले निजी खर्चमा ट्याङ्करमार्फत खानेपानी ढुवानी गरेर बितरण गर्न शुरु गर्नुभएको हो ।


बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका निवर्तमान कोषाध्यक्ष समेत रहनुभएका शर्माले बजारबासीले लामो समयदेखि झेल्दै आएको खानेपानी समस्यालाई समाधान गर्न आफुले सानो प्रयास थालेको बताउनुभयो ।
बानपा ४ उपल्लाचौरमा डेरा गर्दै आउनुभएकी खिरमती पुलिसा पुनले एकातिर पानी नआउने र अर्कोतिर अन्य घरमा मोटर लगाउँदा थप समस्या भएको गुनासो सुनाउनुभयो । उहाँले खानेपानी र मोटरका बिषयमा नगरपालिकालाई जानकारी गराउँदा समेत बेवास्ता गर्दा खानेपानी वितरण अव्यवस्थित बनेको बताउनुभयो ।
स्थानीय सरिता थापाले लामो समयको खडेरीले बजारमा पानी आपुर्ति अनियमित हुँदा उपभोग र सरसफाईमा समस्या भईरहेको बेला शर्माले निशुल्क रुपमा खानेपानी बितरण गरेर पुण्यको काम गरेको बताउनुभयो ।
बागलुङ बजारमा दैनिक २ घण्टाका दरले वितरण हुने पानी अहिले घटेर एक घण्टा मात्रै धारामा आउँछ । भुदीखोला मुहानबाट प्रतिसेकेन्ड १७ लिटरका दरले आउने गरेको पानी अहिले घटेर प्रतिसेकेन्ड ९ लिटर, रेशखोला मुहानदेखि प्रतिसेकेन्ड १७ लिटर पानी आउने पानी घटेर ८ लिटर मात्रै आउने गर्छ भने रिठ्ठेखोला मुहानबाट प्रतिसेकेन्ड ४ लिटरका दरले आइरहेको पानी खडेरीका कारण मुहान सुकेर बन्द भएको छ ।
देशभर फैलिएको डढेलो र आगलागीका घटनासंगै खडेरीका कारण खानेपानीको अभावले आम नागरिक समस्यामा परिरहेको बेला खानेपानी वितरणलाई सहज बनाउन सम्बन्धित निकायले तत्काल प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने देखिएको छ ।

पुरा भिडियो हेर्नुहोस् ।