म्याग्दीका सामुदायिक वनमा डढेलो लागेपछि बन्यजन्तु गाँउ पसे

/ प्रकाशित मिति :
आइतबार, बैशाख ९ २០८१

बागलुङ, ९ बैसाख – म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि वासस्थान र आहाराको अभावका कारण वन्यजन्तु बस्तीमा पसेर किसानले लगाएको बाली नष्ट गरेका छन्।

जिल्लाको मालिका र मंगला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तुहरू वासस्थान र आहाराको खोजीमा गाउँ पसेको स्थानीयले बताएका छन्।

‘खेतबारीमा लगाएको बाली र तरकारी खेती बँदेल र बाँदरले नष्ट गरे। हुँदाहुँदा अब त घरभित्रै पसेर हैरान पार्न थालेका छन्’, मंगला गाउँपालिका–५ का किसान टीकानाथ कँडेलले भन्नुभयो

कँडेलका अनुसार बँदेल, दुम्सी र बाँदर गाउँमा मात्रै होइन घरभित्रै छिर्न थालेका छन्। उता मालिका गाउँपालिकाको वडा नं ६ उपल्लो दुखु, वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँलेले सास्ती व्यहोर्नु परिरहेको छ।

खेतबारीमा बाँदर र बँदेलले र घरआँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेका किसान बताउँछन्। दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि पश्चिम म्याग्दीका किसानको हैरानी बढेको छ।

वन्यजन्तुले बस्ती÷बस्तीमा पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो। जंगलमा डढेलो लागेपछि बाँदर बेसीका बस्तीमा समेत पसेर दुःख दिन थालेको मंगला–५ छिस्वाङका निकेश पुनले बताउनुभयो । दिनभर झाडीमा लुकेर बस्ने बँदेलले रात परेपछि बालीनाली नोक्सान गर्ने गरेको बताउनुभयो ।

बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मचाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल झर्दैन । डढेलो लागेपछि वन क्षेत्रमा खानेकुराको अभाव हुनु,वासस्थान नासिनु र शिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्तीबस्ती पसेका स्थानीय कृषकहरुले बताएका छन् ।