बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

/ प्रकाशित मिति :
शुक्रबार, बैशाख ७ २០८१

बागलुङ, ७ बैसाख – बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।

बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको जङ्गलमा गएका सुनारको रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते बन्नुभएको थियो ।
घाइते सुनारलाई आफन्त र छिमेकीले उद्धार गरी बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको निसीखोला–४ का वडाध्यक्ष टिकानिधि पौडेलले जानकारी दिनुभयो ।

समाजसेवी समेत रहनुभएका सुनारको मृत्युले खाडचौर गाउँ स्तब्ध बनेको उहाँले बताउनुभयो । मृतक सुनारका श्रीमती, एक छोरा र एक छोरी रहनु भएको उहाँले बताउनुभयो ।