पर्वतको दुर्लुङमा आगलागी हुँदा एक घर र दुई गोठमा क्षति

/ प्रकाशित मिति :
बुधबार, चैत्र ७ २០८០

 

बागलुङ ७ चैत्र – जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा बुधबार बिहान भएको आगलागी हुँदा एक घर र दुई गोठमा क्षति पुगेको छ ।

दुर्लुङको थुमामा स्थानीय पूर्णप्रसाद शर्मा र मनमाया बि.क.को गोठ र घरमा आगलागी हुँदा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले बताउनुभयो ।

बिहान करिब छ बजेको समयमा गोठमा चौपायालाई पानी तताइरहेको बेलामा सोही आगोबाट आगलागी सुरु भएको सूचना आएको बताउँदै उनले आगलागीबाट भएको आर्थिक क्षतिको बारेमा अध्ययन भइरहेको जानकारी दिनुभयो ।

आगलागीको सूचना पाएपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीबाट खटिएका सुरक्षाकर्मीसहित स्थानीयको पहलमा आगो नियन्त्रणमा आएको थियो । आगलागीमा परी दुई गोठ, एउटा घरमा पूर्ण क्षति भएको र अर्को एक घरमा आंशिक क्षति भएको डिएसपी भुसालले बताउनुभयो ।

पीडितहरूले कुखुराका माउ र चल्ला करिब ७० वटा, झन्डै एक लाख मूल्यको मिल, एक लाख मूल्य बराबरको खाद्यान्न, दुई लाख बराबर पसलका सामान, ४५ हजार नगदलगायत करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको बताएका छन् ।