यसबर्षको चैते दशैं मेला चैत ३० गतेदेखि लाग्ने

/ प्रकाशित मिति :
आइतबार, फाल्गुन २७ २០८០

बागलुङ, २७ फागुन – विगतका बर्षमा झैँ यो वर्षपनि बागलुङमा आगामी चैते दशैंको अवसरमा मेला आयोजना गरिएको छ ।
कालीका गुठी व्यवस्थापन समितिले बागलुङ सदरमुकाममा ऐतिहासिक चैते दशै मेला चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म बागलुङ नगरपालिका वडा नम्बर १ बाल उद्यान रामरेखामा मेला आयोजना गर्ने भएको हो ।

लाखौं श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको चैत्राष्टमी मेला यो वर्षपनि विभिन्न कार्यक्रम गरेर मनाउने योजना रहेको कालीका गुठी ब्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताउनुभयो । गन्तव्य बागलुङ कालीका कला र संस्कृतिको प्रवर्द्धन स्थानीय उत्पादन ब्यापार र पर्यटन प्रवर्द्धन भन्ने मुल नारासाथ मेला आयोजना गर्न लागिएको उहाँको भनाई थियो ।

चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म कालीका कप खुला भलिबल प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला बाल उद्यान, लगायतका कार्यक्रम समावेश गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।

लामो समयदेखि चल्दै आएको चैत्राष्टमी मेला यो वर्ष जिल्लामा क्रियाशील संघ संस्था, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायी लगायत सरोकारवालासँग सहकार्य गरेर मनाउन लागिएको कालीका गुठीका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।