प्रेस चौतारी कप बिद्यालय स्तरीय फुटवल प्रतियोगिता शुरु (फोटो सहित)

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, माघ १९ २០८០

बागलुङमा शुक्रवारदेखि प्रेस चौतारी कप बिद्यालय स्तरीय फुटवल प्रतियोगिता शुरु भएको छ ।

प्रेस चौतारी नेपालको २६ औ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बागलुङ शाखाको आयोजनामा माघ २२ गतेसम्म संचालन हुने गरि बिद्यालय स्तरीय फुटवल प्रतियोगिता शुरु भएको हो ।

बागलुङको बाङ्गेचौर खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै प्रेस चौतारी नेपालका केन्द्रिय उपमहासचिव राजु सुवेदीले खेलकूदका गतिविधिलाई बढवा दिनका लागि पत्रकारको संगठनले आयोजना गरेको खेलले विद्यार्थीमा खेलप्रतिको उर्जा जगाउने बताउनुभयो ।

कार्यक्रममा चौतारीका केन्द्रिय सदस्य एवँ जिल्ला इन्चार्ज तारानाथ आचार्यले प्रतियोगिताका वारेमा जानकारी गराउनु भाएको थियो । कार्यक्रम जिल्ला शाखा अध्यक्ष सिर्जना पन्तको अध्यक्षता उपाध्यक्ष खेमराज गौतम सुवासको स्वागत र सचिव अर्जुन कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

यसैबिच प्रतियोगिताको पहिलो दिन ४ खेल सम्पन्न भएका छन् । पहिलो दिनको पहिलो उद्घाटन खेलमा बिद्यामन्दिर माविलाई २ का बिरुद्ध ४ गोल गर्दै चिल्डे«न लाइफ बोडिङ स्कुल, दोस्रो खेलमा भिमसेन माविलाई शुन्यका बिरुद्ध ४ गोल गर्दै फ्युचर व्राइटर बोडिङ स्कुल, तेस्रो खेलमा न्यु ओयसिस एकेडेमीलाई १ का बिरुद्ध २ गोल गर्दै आदर्श बिद्या मन्दिर मावि र चौथो खेलमा गुराँश बिद्या सदनलाई १ का बिरुद्ध २ गोल गर्दै रुद्रेपिपल मावि बिजयी भएका छन् ।

स्वास्थ्यका लागि खेल, खेलका लागि खेलकुद पत्रकारीता भन्ने नाराका साथ २२ गतेसम्म संचालन हुने प्रतियोगितामा १२ बिद्यालय सहभागी भएको प्रेस चौतारी नेपाल बागलुङ शाखाका सचिव अर्जुन कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिजेता समुहलाई नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेता हुने समुहलाई नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने र बिद्यागत खेलाडिलाई पनि पुरस्कृत गरिने कार्कीले बताउनुभयो । उद्घाटन पूर्व नेपाल पत्रकार महासंघ बागलुङ शाखा र बागलुङ जेसीजका बिच मैत्रीपूर्ण फुटवल खेल सम्पन्न भएको थियो । खेलमा बागलुङ जेसीजले ४ गोल गर्दै बिजयी भएको थियो ।

फोटोहरु हेर्नुहोस्: