तमानखोलामा लगाएको ताला प्रहरीको सहयोगमा खोलियो, असन्तुष्ट पक्षद्धारा आन्दोलनको चेतावनी

/ प्रकाशित मिति :
आइतबार, माघ ७ २០८០

बागलुङ, ७ माघ – बागलुङको तमानखोला गाउँपालिकाले पार्टी कार्यालय बनाउन बजेट विनियोजन गरेको विरोधमा केही जनप्रतिनिधिले लगाएको ताला प्रहरीको सहयोगमा खोलिएको छ ।

छलफलबिना ताला खोलिएको भन्दै असन्तुष्ट पक्ष नेकपा माओवादी, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले थप आन्दोलन गर्ने घोषणा गरेका छन् ।
२९ पुसमा बसेको तमानखोला गाउँपालिकाको गाउँसभाले बागलुङ नगरपालिकामा नेपाली कांग्रेसको पार्टी कार्यालय बनाउन १४ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । विपी स्मृति भवनको नामबाट बागलुङ नगरपालिकामा कांग्रेसले बनाउन लागेको पार्टी कार्यालयलाई गाउँपालिकाबाट बजेट दिइएको थियो ।

एउटा पालिकाको बजेट अर्को पालिकामा बन्ने भवनका लागि छुट्याइएपछि नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिले माघ ४ गते तमानखोला गाउँपालिकामा तालाबन्दी गरेका थिए । उक्त ताला शनिबार प्रहरीको सहयोगमा खोलिएको हो ।

आफूहरुसँग छलफल नगरी ताला खोलिएको भन्दै नेकपा माओवादीसहित ३ दलले संयुक्त विज्ञप्ति जारी थप आन्दोलन गर्ने बताएका हुन् । आइतबार बैठक बोलाइएको थियो । तर, उहाँहरुले आफ्नो अडान छोड्नुभएन, हामीसँग विरोध सभा र पालिका घेराउबाहेक अर्को उपाय रहेन’, तमानखोला–४ का वडाध्यक्ष छप्रसाद श्रीपालीले भन्नुभयो ।

भवनका लागि छुट्याइएको बजेट फिर्ता गर्ने निर्णय नहुँदासम्म आफूहरुले आन्दोलन जारी राख्ने श्रीपालीले बताउनुभयो । गाउँसभामा भवन निर्माणका लागि सहयोग गर्ने प्रस्ताव पेश भएपछि माओवादीका गाउँसभा सदस्यहरुले विरोध जनाएका थिए ।
तमानखोला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित नेपाली कांग्रेसका २३ जना र माओवादी केन्द्रका ११ जना जनप्रतिनिधि छन् ।