बागलुङ महोत्सवमा आयोजित पालिकास्तरीय भलिबलको उपाधि गलकोटलाई

संगम घर्तीमगर / प्रकाशित मिति :
शुक्रबार, पुष २០ २០८០

बागलुङ, पुस २०– सातौं बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश भित्रका पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ । शुक्रबार दिउँसो धौलागिरि क्याम्पस प्राङ्गणको भलिबल कोर्टमा भएको फाईनल खेलमा ताराखोलालाई सोझो सेटमा पन्छाउँदै गलकोटले उपाधि चुमेको हो ।

बिहीबारको सेमिफाईनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाईनल प्रवेश गरेको ताराखोलाले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा ३—० सेटले गलकोटलाई उपाधि बुझाउन पुग्यो । फाईनल खेलका गलकोट नगरपालिकाले तीन सेट नै २५—२०, २५—२२ र २५—२२ अन्तरले आफ्नो पोल्टामा पा¥यो ।

गलकोट नगरपालिको फाईनल प्रवेशका लागि बिहीबार ढोरपाटन नगरपालिकालाई पराजित गरेको थियो । संघर्षपूर्ण उक्त खेलमा पाँचौ सेटमा जित हात पार्दै फाईनल पुगेको गलकोट नगरपालिकालाई उपाधिका लागि भने संघर्ष गर्नु परेन ।ताराखोला गाउँपालिकाका खेलाडीबाट रोटेसन परिवर्तनमा भएको गल्तीले पनि गलकोटलाई उपाधिका लागि सघाउ पु¥यायो । उपाधि विजेता गलकोट नगरपालिकाले नगद एक लाख ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार जितेको छ । गलकोटलाई उपाधि बुझाएर दोस्रो स्थानमा चित्त बुझाएको ताराखोला गाउँपालिकाले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँ पाएको छ ।

शुक्रबार नै तृतीय स्थानका लागि भएको प्रतिस्पर्धामा ढोरपाटन नगरपालिकाले होटल माउन्टेन भ्यू काठेखोलालाई पराजित गरेको छ । आफुलाई उपाधि दाबेदारको रुपमा प्रस्तुत गर्दै प्रतियोगितामा अगाडि बढेको ढोरपाटन नगरपालिका बिहीबार गलकोट नगरपालिकासंग संघर्षपूर्ण खेलमा पराजित हुँदै बाहिरिएको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा ढोरपाटनले माउन्टेन भ्यूलाई ३—१ सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेट लगातार जितेको ढोरपाटनले तेस्रो सेट गुमाउँदा चौथो सेट जित्दै तेस्रो स्थान सुरक्षित गरेको हो ।पहिलो सेट २८—२६ र दोस्रो सेट २५—१८ ले जितेको ढोरपाटनले तेस्रो सेट २५—२२ ले गुमाउन पुग्यो । तेस्रो सेट गुमाएको ढोरपाटन चौथो सेटमा पुनरागमन गर्दै २५—१२ मा सेट जित्यो र तेस्रो स्थान आफ्नो लागि सुरक्षित ग¥यो ।

प्रतियोगितामा तृतीय स्थान जोगाएको ढोरपाटनले ५१ हजार एक सय ११ रुपैयाँ र सान्त्वना भएको माउन्टेन भ्यूले २५ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको प्रतियोगिताका रेफ्री संयोजक किशोर थापाले जानकारी दिएका छन् ।

सातौं बागलुङ महोत्सवकै अवसरमा आयोजना गरिएको खेला महिला भलिबलको उपाधि भने नवमालिकाले जितेको छ भने निर्माण व्यवसायी संघ बागलुङ दोस्रो भएको छ । पुस ११ गतेदेखि सुरु भएको सातौं बागलुङ महोत्सवमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका साथै दैनिक दर्जनौ चर्चित कलाकारहरुको प्रस्तुतीसंगै बागलुङे दर्शक रमाईरहेका छन् । महोत्सव शनिबार सकिनेछ ।