सातौं बागलुङ महोत्सवको यही पुष ११ गते देखी शुरु हुँदै

/ प्रकाशित मिति :
सोमबार, पुष २ २០८០

बागलुङ, २ पुष – बागलुङ उद्योग बाणिज्य संघले आयोजना गर्ने सातौं बागलुङ महोत्सवको तयारी तिब्र पारिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएपछि संघसहित सुरक्षा निकाय, स्थानीय तह र अन्य समुदायले तयारीमा साथ दिएका छन् ।

पुस ११ गतेदेखि २१ गतेसम्म संचालन हुने महोत्सवबाट आधादर्जन सामाजिक क्षेत्रको काम गर्ने लक्ष राखिएको छ । धवलागिरि बहुमुखी क्याम्पसको गरिब, बिपन्न तथा जेहेन्दार बिद्यार्थी छात्रवृत्ति कोषमा साथ दिने उदेश्य राखिएको छ ।

यस्तै, स्थानीय उत्पादनलाई जोड र कोसेली घर निर्माण तथा संचालनमा पहल, पत्रकार महासंघको संस्थागत बिकासमा साथ दिने,हाम्रो समुदाय राम्रो समुदाय भन्ने अभिव्यक्तिका साथ सामुदायिक प्रहरी रामरेखालाई सहयोग गर्ने, बजारमा सिसि क्यामेरा जडान र व्यवस्थापन गर्ने तथा व्यवसायी एकताका लागि अक्षयकोष निर्माण गर्ने उद्देश्य राखिएको छ ।

गण्डकी प्रदेशका पर्यटकीय स्थलको प्रचार गर्ने, धार्मिक क्षेत्रको प्रर्वद्धन गर्ने, उद्यमीको क्षमता बिकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण र ब्राण्डीङ, स्थानीय खानाका परिकारलाई स्तरीकरणमा संघले साथ दिने अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।

मेलामा १ सय २० व्यापारिक स्टल, ३० वटा प्रवद्र्धनात्मक स्टल र बागलुङकै उत्पादन राखिने छ । बिगतमा जस्तै संघले गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, औद्योगिक व्यापार मेला तथा सातौं बागलुङ महोत्सवको नामाकरण गरेको छ ।

महोत्सवको अबसरमा राष्ट्रिय कलाकारहरु आउनेछन् भने खुला रिले दोहोरी हुनेछ । पालिका स्तरिय खुला महिला तथा पुरुष भलिबल, भजन प्रतियोगिता, युवा उद्यमी सम्मेलन, लाइभ कन्सर्ट, बाल उद्यान र जातजातीका झाँकी प्रस्तुत गरिने प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिनुभयो ।