बडिगाडमा कोदालो प्रहार गरी भतिजले गरे काकाको हत्या

/ प्रकाशित मिति :
सोमबार, मंसिर १८ २០८០

बागलुङ, १८ मंसिर – बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा कोदालो प्रहार गरी भतिजले काकाको हत्या गरेका छन् ।

बडिगाड गाउँपालिका १० चैतेका ३३ वर्षीय हिरालाल विकले काका ४० वर्षीय लालमन विकलाई कोदालोले टाउकोमा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

सामान्य विवाद हुँदा भतिजले कोदालोले टाउकोमा प्रहार गर्दा घटनास्थलमै काका लालमनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

खबर पाए लगत्तै अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय भिमगिठ्ठेबाट २ जना र जिल्ला प्रहरी कार्यालय बागलुङबाट ७ जनाको टोली घटनास्थलमा खटिएको र काकाको हत्या गर्ने भतिजालाई घरैबाट पक्राउ गरिएको केसीले जानकारी दिनुभयो ।