मुस्ताङका उच्च लेकमा पालन गरिएका याकचौरी चिसो बढेसंगै झरे

/ प्रकाशित मिति :
सोमबार, कार्तिक २០ २០८០

बागलुङ, २० कार्तिक – हिमाली मुस्ताङका उच्च लेकमा पालन गरिएका याकचौरी चिसो बढेसँगै बेंसी झारिएको छ । हिउँद यामको मौसममा उच्च लेकका पाटनमा अध्यधिक चिसो र हिमपात हुने भएकाले मुस्ताङको उच्च लेकमा पालिएका याकचौरी बेंसी स्थान्तरण गरिएको हो ।

बर्सेनि हिउँद याममा उच्च लेंकमा पालन गरिएका याकचौरी व्यवस्थापनमा निकै चुनौती हुने भएकाले पाटनका याकचौरी बेंसी झार्ने गरिन्छ । हिउँद याममा हिमालको फेदमा पालन गरिएका याक, चौरीलाई हिमपातको जोखिम हुन्छ ।

हिउँद याममा बस्तीमा हिउँ परे पनि चाँडो पग्लिने, गोठाला तथा पशुचौपायालाई न्यानो हुने र पशु आहार दिनसमेत सजिलो हुने हुँदा याकचौरी बस्ती छेउ झार्ने गरिएको घरपझोङका पशुपालक वीरबहादुर घर्तीले बताउनुभयो । उच्च लेकमा चिसो र हिमपातले चरन क्षेत्र ढाकिँदा याकचौरीलाई घाँसको अभाव हुन्छ ।

मुस्ताङमा झन्डै ४ हजार याकचौरी रहेको हिमालयन चौरी पालन तथा संरक्षण समितिले जनाएको छ । मुस्ताङको थासाङ गाउँपालिकामा २२ घरधुरीले व्यवसायिक रुपमा१५ सयभन्दा बढी याकचौरी पालन गरेका छन् । घरपझोङ गाउँपालिकाको मार्फा, स्याङ र जोमसोम गरी ८ घरधुरीले करिब ५ सय याकचौरी पालन गरेका छन् ।

लोमन्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा१६ घरधुरीले १८ सयभन्दा बढी याकचौरी पालेका छन् भने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको झारकोट र मुस्ताङ—डोल्पा सीमाना साङ्ता गाउँमा २४० भन्दा बढी याकचौरी पालन गरिएको हिमालयन चौरीपालन तथा संरक्षण समितिका अध्यक्ष प्रदीप गौचनले जानकारी दिनुभयो ।