दलित बस्तीमा बागलुङ नगरपालिकाद्धारा पञ्चेबाजा सहयोग

/ प्रकाशित मिति :
बिहिबार, कार्तिक १६ २០८០

बागलुङ, १६ असोज – परम्परागत बाजाको संरक्षण गर्ने तथा युवा पुस्तालाई स्वरोजगार बनाउन बागलुङ नगरपालिकाले समूहमा पञ्चेबाजा हस्तान्तरण गरेको छ ।

बागलुङ नगरपालिका वडा नं. ८ सिगानाको लामीचौरको दलीत बस्तीमा दुइ सेट पञ्चेबाजा बितरण गरिएको हो । २० थान बाजा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले समूहका अध्यक्ष जब्बरबहादुर नेपाली लाई हस्तान्त्रण गर्नुभएको थियो ।

सो अबसरमा नगरप्रमुख श्रेष्ठले परंपरागत बाजा र सीपको संरक्षण गर्न युवाहरु जागरुक बन्नुपर्ने बताउनुभयो । आफ्नो सीप बढाउने र पुख्र्यौली पेशालाई पनि जोगाउने काममा चासो राखेकोमा समूहको प्रशंसा गर्दै नगरप्रमुख श्रेष्ठले” ‘बिपन्न बस्तीमा पेशा सुहाउँदो सहयोग गर्न नगरपालिकाले निरन्तर लाग्ने बताउनुभयो ।

गत आर्थिक बर्षको बजेटमा बाजा खरिद गरिएपनि हस्तान्तरण भैसकेको थिएन । बाजा हस्तान्तरणपछि यहाँका दुइवटा समूहका २० युवा रोजगार बन्न सक्ने अबस्था सिर्जना भएको वडा अध्यक्ष छमबहादुर कार्कीले बताउनुभयो । ‘हामीले सामुदायिक भवन समेत बनाएका छौं, उक्त भवन पनि प्रयोगमा आएको छ’ कार्कीले भन्नुभयो, ‘बाजा हस्तान्तरण पनि समुदायका युवाले आम्दानीको श्रोत बनाउने लक्ष बनाएका छन् ।’ बिवाह, ब्रतबन्ध, चाडपर्व र कुनै खेलकुद तथा मेला महोत्सवमा उनीहरुले बाजा बजाएर कमाइ गर्न सक्ने व्यवस्था गरिएको हो ।