गलकोटको दुदिलाभाटीमा निर्मित झोलुङ्गे पुलको उद्घाटन

/ प्रकाशित मिति :
सोमबार, असोज २९ २០८០

 

बागलुङ, २९ असोज – बागलुङको गलकोट नगरपालिका वडा नम्वर १ दुदिलाभाटीमा निर्मित गल्कोटकै लामो झोलुङ्गे पुल उद्घाटन गरिएको छ । दुदिलाभाटीको काफलठुटादेखि गौदी जोड्ने २ सय २७ मिटर लामो र १ सय ५ मिटर उचाईको झोलुङ्गे पुलको उद्घाटन गरिएको हो ।

१ करोड ४४ लाखको लागतमा बनेको पुलको पुल निर्माणमा मुख्य भुमिका खेल्नु भएका नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार मेघनाथ शर्मा पौडेलले गर्नु भएको थियो । पुलको उद्घाटनपछि बोल्दै उहाँले बिकास निर्माणको काममा सवैको सहभागीता र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले विकास निर्माणको लागि राजनितिक विचार भन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिदै पुलको संरक्षणका लागि सवैले ध्यान दिनुपर्नेमा बताउनुभयो ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष लालबहादुर राना, पुल निर्माणका पहलकर्ता ललिता थापा, नेपाली कांग्रेसका वडा सभापति हिमबहादुर खड्का, नेकपा एमालेका वडा अध्यक्ष भिमबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रका नगर सचिवालय सदस्य जिवन भण्डारी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य नेत्र बुढाथोकी र नेकपा एकिकृत समाजवादीका प्रतिनिधि तिलबहादुर खड्काले मन्तव्य व्यक्त गर्नु भएकोको थियो ।
सो अवसरमा पुल निर्माण गर्न निशुल्क जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान गरिएको थियो । पुलमा पुग्नका लागि स्थानियवासी एवँ हाल अमेरिकामा रहनु भएका सन्तोष खत्री र सीता खत्रीले ३ लाख २१ हजारको लागतमा निर्मित ३० मिटर पदमार्ग निर्माणमा सहयोग गरिदिनु भएको थियो ।

कार्यक्रम पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष गुमानसिङ बुढाथोकीको अध्यक्षता, उपाध्यक्ष धनकुमारी खत्रीको स्वागत र वडा नम्वर १ का सचिव यादवदत्त रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।