बागलुङलाई धार्मिक पर्यटनको हब बनाऔं मन्त्री—थापा

/ प्रकाशित मिति :
सोमबार, असोज २९ २០८០

नारायण रिजाल
बागलुङ २९ असोज गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले बागलुङलाई धार्मिक पर्यटकिय क्षेत्रको हवको रुपमा विकास गर्ने बताउनुभएको छ । बागलुङ नगरपालिका—५ मालिका चनौटेमा पुनःनिर्माण गरिएको भगवती मन्दिरको उद्घाटन गर्गै उहाले बागलुङमा ऐतिहासिक महत्व बोकेका विभिन्न धार्मिक स्थान रहेको हुँदा यहाँको प्रचार प्रसार गरी पर्यटकको आर्कषणको केन्द्रविन्दु गराउनुपर्ने बताउनुभयो । उहाँले पर्यटकिय क्षेत्रको विकासका निम्ती धुरी पदमार्ग निर्माणमा प्रदेश सरकारले जोड दिने बताउनुभयो ।

मन्त्री थापाले बागलुङको नयाँ धार्मिक गन्तव्यको रुपमा रहेको पञ्चकोट र शालिग्राम संग्राहलयको नजिकमा निर्माण भएको भगवती मन्दिरले छुट्टै महत्व बोकेको बताउनुभयो ।उहाँले गण्डकी प्रदेश सरकारले गाउँगाउँमा उद्यम विकासका कार्यक्रम संचालन गरी युवालाई विदेश पलायनबाट रोक्ने कार्यक्रम ल्याउने बताउनुभयो । थापाले वनमा रहेका जडिबुटि संकलन गरी बागलुङमा जडिबुटि संकलन तथा औषधी निर्माणको क्षेत्रको रुपमा विकास गर्न अध्ययनको थालनी गरेको बताउनुभयो ।

२०४० सालमा स्थापना भएको यस मन्दिर परिसरमा गणेश मन्दिर, बालविकास केन्द्र, सत्तल लगायतका संरचना निर्माण गरिएको छ । स्थानिय बासीको सक्रियतामा आर्थिक संकलन गरी करिब ३५ लाख रुपैयाँको लागतमा मन्दिर पुनःनिर्माण गरिएको मन्दिर पुन निर्माण समितिका अध्यक्ष यामबहादुर कुँवर मधुले जानकारी  दिनुभयो । त्यसमा बागलुङ नगरपालिकाबाट ३ लाख रुपैया सहयोग भएको थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बागलुङ नगरपालिका भित्रका पर्यटकिय क्षेत्रका निम्ती नगरपालिको गुरुयोजना बनाएर अगाडी बढ्ेको बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका –५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा, गैह्र सरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, मन्दिर पुन निर्माण समितिका सल्लाहकार तेजबहादुर कुँवर ‘सन्तोष’, वडा सदस्य चक्रपाणी सापकोटा, नेकपा एमाले मालिकाका अध्यक्ष गोविन्द सापकोटा, कुवेरधाम निर्माण समितिका सचिव भिम बहादुर खत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष यमबहादुर कुँवर मधुको अध्यक्षता, सल्लाहकार केदारजंग कुँवरको स्वागत र तेजेन्द्र कुँवरको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा मन्दिर निर्माणका निम्ती सहयोग गर्ने विभिन्न सहयोगदातालाई सम्मान गरिएको थियो ।