डेंगी परीक्षणका लागि धौलागिरी अस्पतालमा किटको अभाव

/ प्रकाशित मिति :
बुधबार, असोज २४ २០८០

बागलुङ, २४ असोज – पछिल्लो समय बागलुङ जिल्लामा डेंगीको समस्या बढीरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रबिरञ्जन प्रधानका अनुसार दैनिक डेंगीका बिरामी बढेको हुन् । त्यसका लागि अत्यावस्यक रगत परीक्षण किट नभएको उहाँले गुनासो गर्नुभयो ।

स्वास्थ्य कार्यालय बागलुङले पनि डेंगी रोग महामारीको रुपमा आएकोले रगत परीक्षण किट भित्राउन सबैको चासो र पहल हुनुपर्ने आबश्यकता औल्याएको छ । डेंगी, स्क्रब टाइफस, सापु लगायतका जोखिम बढीरहेको बिषयमा सरोकारवालाको ध्यानाकर्षण समेत गराइएको छ ।

जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले ती प्रकोपबारे प्रस्तुतीकरण गर्दै लामखुट्टे, सेतो पुतली र मुसाबाट आउने भुसुनाबाट जोगिनुपर्ने जानकारी गराउनुभयो । अहिले डेंगी परीक्षणको किट नभएकोले बिरामीको परीक्षण गर्न नसकिएको उहाँको भनाइ थियो ।

धौलागिरि अस्पतालले ५ सय किट मागेकोमा अहिलेसम्म नआएको प्रधानको गुनासो रहेको थियो । अस्पतालमा हालसम्म परीक्षण गरेकाहरु १ सय ३९ डेंगीका संक्रमित छन् । बागलुङको बुर्तिवाङ, बडिगाड र गलकोट क्षेत्रमा डेंगीका बिरामी धेरै भेटिएको शर्माले जानकारी दिनुभयो । परीक्षण किट व्यवस्थापनका लागि स्वास्थ्य कार्यालयले समेत पहल गरेको छ ।

किट व्यवस्थापनका लागि जिल्ला दैबिप्रकोप उद्दार समिति तथा मनसुनजन्य बिपत् व्यवस्थापन समितिले पहल गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा भएको छलफलमा सबै पालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख तथा स्वास्थ्य, रेडक्रस र धौलागिरि अस्पतालका पदाधिकारीले महामारी नियन्त्रणमा चासो राखेका थिए ।