चाडपर्व नजिकिए संगै बागलुङमा अनुगमन तिव्र

/ प्रकाशित मिति :
शुक्रबार, असोज १९ २០८០

कोपीला कँडेल
बागलुङ, १९ असोज – नजिकिदै गएका चाडपर्व लाई लक्षित गरी बागलुङमा अनुगमन कार्य लाई तिव्र पारिएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङको अगुवाईमा जिल्ला प्रशासन कार्यालय बागलुङ, बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय , बागलुङ उद्योग बाणिज्य सघं,राष्ट्रिय उपभोक्ता मञ्च र सुरक्षाकर्मीको टोलीले बजारका बिभिन्न थोक तथा खुद्रा पसल,होटल, रेष्टुरेण्ट, दुग्ध डेरी लगायत डेढ दर्जन बढि पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा भेटिएका गुणस्तरहिन तथा म्याद गुज्रेका सामग्री जफत गरी नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका अधिकृत बिष्णुनाथ शर्माले जानकारी दिनुभयो । अनुगमनका क्रममा मैदा, सुजी, चाउचाउ, कोल्डड्रिक्स, चकलेट, बेसार, बिस्कुट भुजा लगायतका म्याद गुर्जेका सामग्री फेला परेका थिए ।

चाडपर्व नजिकिदै जाँदा बजार क्षेत्रमा म्याद गुर्जेका तथा सडेगलेका गुणस्तरहिन सामग्रीको किनबेच हुनसक्ने हुँदा अनुगमन लाई तिव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । गुणस्तरहिन सामग्रीको खरिद बिक्रि लगायतका अबैध कार्य रोक्नका लागि उभोक्ता समेत सचेत बन्नुपर्ने उहाँले बताउनुभयो ।

बागलुङ नगरपालिकाका बरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुबेदीले आम उपभोक्ताको स्वास्थ्य लाई मध्यनजर गरी अनुगमन लाई निरन्तरता दिईएको बताउनुभयो ।चाडपर्व सुरु भएसँगै व्यापारीले म्याद गुज्रेका बस्तुहरू बिक्री गर्ने, अखाद्य बस्तुको बेचविखन गर्ने, दैनिक उपभोग्य वस्तुहरूको कृतिमा अभाव सृजना गर्ने लगायतका अबैध कार्य रोक्न अनुगमन कार्य तिव्र पारिएको उहाँको भनाई छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले चाडपर्व लाई लक्षित गरी गरिएको अनुमनमा गुणस्तरहिन सामग्रीको विक्रिवितरण गर्ने लाई सचेत गराईने र पटक पटक लापरबाही गरेको पाईएमा कानुन बमोजिमको कारबाही हुने बताउनुभयो ।