मुस्ताङमा प्रथम कृषि तथा पर्यटन महोत्सव बिहीबारदेखि सुरु

/ प्रकाशित मिति :
बिहिबार, असोज १८ २០८០

बागलुङ, १८ असोज – हिमाली जिल्ला मुस्ताङमा प्रथम कृषि तथा पर्यटन महोत्सव बिहीबारदेखि सुरु भएको छ। समग्र मुस्ताङ जिल्लाकै कृषि तथा पर्यटन प्रवर्द्धन र विकास गर्ने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाले पहिलो पटक ऐतिहासिक घरपझोङ ‘कृषि तथा पर्यटन महोत्सव २०८०’ को आयोजना गरिएको हो।

घरपझोङ कृषि तथा पर्यटन महोत्सव शुभारम्भ अघि बाजागाजा, विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकीसहित मुस्ताङको पुथाङ एयरपोर्टदेखि जिल्ला प्रशासन कार्यालय हुँदै जोमसोम बजार परिक्रमा गर्दै घरपझोङ महोत्सव स्थलसम्म ¥याली प्रदर्शन गरिएको थियो।

महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्नुभयो । यसैगरी मुख्यमन्त्री पाण्डेले घरपझोङ गाउँपालिकाको नवनिर्मित भव्य प्रशासकीय भवन र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको दुई वटा भौतिक संरचना अलग अलग रूपमा उद्घाटन गर्नुभएको छ ।

घरपझोङ गाउँपालिकाले ७ करोड ५९ लाख लागतमा संघीय तथा प्रदेश सरकारको साँझेदारी भव्य ४ तले प्रशासकीय भवन निर्माण गरेको हो। यसैगरी घरपझोङ गाउँपालिकाले ४८ लाख लागतमा ३ तले आपतकालीन भवन निर्माण गरेको हो।

घरपझोङ प्रथम कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले कृषि र पर्यटनको विकास हुन नसके आर्थिक समृद्धि हासिल नहुने उल्लेख गर्नुभयो । धार्मिक पर्यटनलाई लक्षित गरी गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटन अघि बढाउन खोजेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो।