धौलागिरी अस्पताललाई कमल शर्मा फाउण्डेशनद्धारा १२ लाखको हेमाटोलोजी मेसिन सहयोग

/ प्रकाशित मिति :
बिहिबार, असोज ११ २០८០

कोपीला कँडेल
बागलुङ, ११ असोज – कमल शर्मा फाउण्डेशनले धौलागिरी अस्पताल बागलुङ लाई ल्याव मेसिन सहयोग गरेको छ । बागलुङको जैदीका कमल शर्माको अमेरिकाको टेक्सासमा क्यान्सर रोगबाट मृत्यु भएपछि उहाँको नाममा स्थापना गरिएको फाउण्डेशन बाट धौलागिरी अस्पताल लाई ल्याब ईक्युप्मेन्ट (फाईब पार्ट फुल अटोमेटिक हेमाटोलोजी एनालाईजर )हस्तान्त्रण गरिएको हो ।

कुल ११ लाख ८६ हजार ५ सय मुल्यको सो ल्याब मेसिन बिरामीको उपचारमा सहयोग पुर्याउने उदेश्यले हस्तान्त्रण गरिएको अधिवक्ता तथा मृतकका काका अखिलनाथ शर्माले जानकारी दिनुभयो ।

क्यान्सर जस्तो जटिल रोग देखा परेपछि अमेरिकाको अस्पतालमा उपचारका क्रममा निधन भएकोले मृतककी पत्नी श्रीमती सरिता शर्मा आचार्य तथा परिवारजनको चाहना अनुरुप अस्पतालको सेवा प्रवाहमा सहयोग पुर्याउने उदेश्यले मेसिन हस्तान्त्रण गरिएको शर्माले बताउनुभयो ।

बागलुङको जैदीका पिता बरिष्ठ अधिवत्ता बद्रि प्रसाद शर्मा र माता सरस्वती शर्माका  छोरा कमल शर्मा पौडेलको क्यान्सर रोग बाट मृत्यु भएपछि उहाँको नाममा परिवारले कमल शर्मा फाउण्डेशन नामक संस्था खोलिएको हो ।

कमल शर्मा फाउण्डेशनले उपलब्ध गराएको मेसिनले बिरामीको सेवा प्रवाहमा सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रविरञ्जन प्रधानले बताउनुभयो । ल्याबमा हेमाटोलोजी मेसिनको आवश्यकता भएकाले फाउण्डेशन संगको समन्वयमा उक्त मेसिन मगाएको मे.सु प्रधानले जानकारी दिनुभयो ।

सो अवसरमा जिल्ला समन्वय समितीका प्रमुख अमर थापा, धौलागिरी अञ्चल व्यवस्थापन समितिका पुर्व अध्यक्ष केबी रानामगर र मृतक कमल शर्माका पिता तथा बरिष्ठ अधिवक्ता बद्री प्रसाद शर्मा  लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्मा पौडेलको अध्यक्षता, ईन्जिनियर प्रल्हाद बस्नेतको स्वागत मन्तव्य र स्वास्थ्यकर्मी नवराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।