पर्वतको पैयुंमा द्धन्दकालमा बन्द भएको अस्पताल संचालनको तयारी

/ प्रकाशित मिति :
मंगलबार, असोज ९ २០८០

 

बागलुङ, ९ असोज – जिल्लाको पैयुँ गाउँपालिका–४ मा रहेर करिब २० वर्षदेखि बन्द रहेको मिसन अस्पताल सञ्चालनको प्रयास सुरु भएको छ।अमेरिकी सहयोगमा करिब २०५० सालमा सञ्चालनमा ल्याइएको अस्पताल द्धन्द्धकालको समयमा बन्द भएको थियो।

पर्वतको दक्षिणी रहेको उक्त अस्पतालबाट पर्वतसहित छिमेकी जिल्लाहरूका बिरामीहरूलाई समेत सेवा दिने गरी सञ्चालन भएको भए पनि द्धन्द्धकालको समयमा चिकित्सक बस्न नसक्ने लगायतका समस्याहरू आएपछि अस्पताल बन्द भएको थियो।

करिब ८÷१० वर्षसम्म चलेको अस्पतालले स्थानीयलाई निकै सहज बनाएको भए पनि अस्पताल बन्द भएपछि त्यहाँका नागरिकहरू सदरमुकाम कुश्मा बजारसहित पोखरा र स्याङ्जाको वालिङ लगायतका ठाउँमा जान बाध्य छन्।

अस्पताल बन्द हुँदा भौतिक संरचना समेत लामो समयदेखि अलपत्र परेपछि सामाजिक सेवामा सक्रिय हुँदै आएको ‘देउराली फाउन्डेसन’ ले अस्पताल सञ्चालनको प्रयास थालेको हो।

फाउन्डेसनको तर्फबाट केही दिन अगाडि हुवासमा पुगेको टोलीले त्यहाँको वस्तुस्थितिको बरेमा अध्ययन गरेर फर्किएको छ। अस्पताल सञ्चालनको लागि गाउँपालिका सहित स्थानीय नागरिकले पनि चासो देखाएपछि अस्पताल सञ्चालनको प्रयास सुरु गरिएको फाउन्डेसनका अध्यक्ष भिम घिमिरेले बताउनुभयो ।

हाल अमेरिकामा रहेका नन रेसिडेन्ट नेपाली एसोसिएसनका अध्यक्ष तथा देउराली फाउन्डेसनका संस्थापक माधव मरासिनी सहित अमेरिकामै रहेका नेपाली र अमेरिकाकै स्वयंसेवक लगायतले पनि अस्पताल सञ्चालनको लागि सक्रियता देखाएपछि अस्पताल खुलाउने तयारी भइरहेको छ।