बाढिले बाग्लुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध

/ प्रकाशित मिति :
आइतबार, असोज ७ २០८០

 

बागलुङ, ७ असोज – बागलुङमा वर्षाका कारण मध्यपहाडी लोकमार्ग दुईतर्फी अवरुद्ध भएको छ। लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरमा रहेको कालापैरा खोलामा आएको बाढीले बाग्लुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो ।

शनिवार हिजो दिउँसोदेखि सडक अवरुद्ध भएपछि पूर्वीरुकुमदेखि काठमाण्डौ, पोखरा, बाग्लुङलगायतका ठाउँका लागि छुटेका मालवाहक तथा यात्रु बोकेका गाडी सडकमै रोकिएका छन् । लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन् । अहिले पानी पर्न रोकिएकाले सडक खुलाउने प्रयास भइरहेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिनुभयो ।

बाढीले करिब दुई सय मिटर कालोपत्र सडकमा क्षति पुर्याएको अध्यक्ष पौडेलको भनाइ छ । कानाबगर हुँदै ओखरेनी जोड्ने शाखा सडकमा पहिरो जाँदा कालापैरा खोलामा बाढी आएर सडक अवरुद्ध भएको पौडेलले बताउनु भयो । बुर्तिबाङ, बाग्लुङ, पोखरा, काठमाण्डौ र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएका छन्।

बर्खाका बेला यो सडक पटक पटक अवरुद्ध हँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।