मानवसेवा आश्रमद्धारा आयव्यय सार्वजनिक, निशुल्क शिक्षा दिने दुई निजी बिद्यालयलाई सम्मान

/ प्रकाशित मिति :
आइतबार, असोज ७ २០८០

 

बागलुङ, ७ असोज – मानवसेवा आश्रम बागलुङले २०७९÷ ८० को आयव्यय सार्वजनिक गरेको छ । आश्रमले शनिबार स्नेह मिलन कार्यक्रमको आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो ।

बिभिन्न दाता तथा निकाय बाट सहयोग जुटाएर ७७ साल बाट निर्णयघाटमा आफ्नै भवन निर्माण कार्य शुरु गरेको आश्रमले ८२ शालमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । करिब १२ करोडको लागत अनुमान रहेको भवन निर्माण कार्यमा हाल सम्म बिभिन्न निकायबाट ३ करोड सहयोग जुटाएर निर्माण कार्य भईरहेको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै आश्रमका अभिभावक ओमबहादुर खड्का शिवले जानकारी दिनुभयो ।

आश्रमले निर्माणाधिन भवन व्लक ए को भुइतला र व्लक सी को पहिलो र दास्रो तलाको हाफ निर्माणका क्रममा भएको आयव्यय बिवरण सार्वजनिक गरेको हो ।

हालसम्मको भवन निर्माणका लागि बिभिन्न संघसंस्था, स्थानिय तह, व्यक्तिबाट गरि प्राप्त रकमबाट १ करोड ३२ लाख ६४ हजार ६ सय ८ रुपैया खर्च भएको आश्रम बागलुङ शाखाका अभिभावक खड्काले जानकारी दिनुभयो ।

संघसंस्था, स्थानिय तह, व्यक्तिबाट गरि प्राप्त रकमबाट नपुग रकम सापटी लिएर खर्च गरिएको उहाँको भनाई थियो । भवन निर्माणका लागि बागलुङ, म्याग्दी र पर्वतका स्थानिय तहसंगै बिभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गरेको उहाँले बताउनुभयो ।

उक्त भवन निर्माण भएपछि करिब २ सय देखी ३ सय जना लाई आश्रय दिन सकिने उहाँले बताउनुभयो । त्यसैगरी प्रगति प्रतिबेदन आश्रमका संयोजक बिपना तामाङले गर्नुभएको थियो ।

सो अवसरमा तामाङले गुणस्तरिय सेवाका लागि मासिक १ जना बराबर १५ हजार खर्च गर्नुपर्ने भएपनि यस अनुपातमा उपलब्ध सहयोग धेरै कम हुने भएकाले आश्रम संचालनमा कठिनाई भएको बताउनुभयो । यस्तै सेवा स्थानको अभावका कारण सबै सहयोगापेक्षीको उद्धार गर्न नसकिएको, अस्थाई रुपमा संचालित आश्रम संचालनका लागि बर्षातमा असहज भएको लगायतका चुनौती रहेको उहाँको भनाई छ ।

सो अवसरमा आश्रम लाई निशुल्क शिक्षा प्रदान गर्ने दुई निजी बिद्यालय लाई सम्मान समेत गरिएको थियो । बा.न.पा ४ स्थित धौलागिरी बोडिङ स्कुल र बा.न.पा १ स्थित प्रिसियस एकेडेमी लाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।

मानव सेवा आश्रमका अभिभावक निर्मलकुमार श्रेष्ठको अध्यक्षता, अभिभावक सुवास केसीको स्वागत मन्तव्य र सरिता गौतम र शिव केसीको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, बडिगाड गाँउपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, जैमुनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, मानवसेवा आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ तिमिल्सेना र नेपाल पत्रकार महासघं बागलुङ शाखाका सचिव बिजय राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।